कान्तिपुर स्कुलद्वारा ११औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सुरु

विराटनगर । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो ११औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सुरु गरेको छ। विद्यालय परिसरमा बिहीबारदेखि सुरु भएको तीनदिने उत्सवको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले वर्तमान समय प्रविधिको युग भएकाले विद्यालयहरूले विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र आधुनिक प्रविधिसँग जोड्नुपर्नेमा जोड दिए। उनले किताबमा सीमित ज्ञानले मात्र नपुग्ने उल्लेख गर्दै जीवनोपयोगी, सीपमूलक र संस्कारयुक्त शिक्षाबाट सक्षम नागरिक उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याए।

कान्तिपुर फाउन्डेसन प्रालिका प्रिन्सिपल भुवन नेपालले गुणस्तरीय शिक्षासँगै प्रविधि र संस्कारलाई प्राथमिकता दिएकै कारण विद्यालयमा हाल २८ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए। उनले विद्यार्थीको चौतर्फी विकासका लागि जीवनोपयोगी शिक्षामा निरन्तर जोड दिइएको बताए।

उनका अनुसार तीनदिने कार्यक्रमअन्तर्गत पहिलो दिन नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्। दोस्रो दिन कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूको प्रस्तुति रहनेछ भने अन्तिम दिन कक्षा १२ का विद्यार्थीलाई बिदाइ गर्दै वार्षिकोत्सव समापन गरिनेछ।

कार्यक्रममा प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी तथा विराटनगर महानगरपालिका–१० का वडाध्यक्ष अर्जुन गिरीले शुभकामना मन्तव्य राख्दै विद्यालयले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।

उत्सवका अवसरमा विद्यार्थीहरूले आकर्षक नृत्य तथा गायन प्रस्तुत गरी अभिभावक र सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए। तीन दिनसम्म चल्ने कार्यक्रममा विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि विभिन्न विधाका गतिविधि समावेश गरिएको विद्यालयले जनाएको छ।

Add a Comment