‘कल्ली’ सिनेमाबाट अभिनेता अर्पण थापाको नयाँ लुक्स सार्वजनिक, दर्शकमा बढ्यो उत्सुकता
विराटनगर/ कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा छायांकन भइरहेको सिनेमा ‘कल्ली’ बाट अभिनेता अर्पण थापाको लुक्स सार्वजनिक गरिएको छ। पछिल्ला केही सातादेखि धमाधम छायांकनमा रहेको यो सिनेमाको टोली हाल जुम्लामा छायांकनमा व्यस्त छ।
काठमाडौंमा केही दिन छायांकन गरेपछि निर्माण टोली जुम्लातर्फ गएको हो। अभिनेता अर्पण थापाको लुक्स निकै फरक देखिएको छ र यसले दर्शकमाझ ठूलो कौतुहलता जगाएको छ। यद्यपि, निर्माणपक्षले फिल्ममा उनको भूमिका कस्तो हुने हो भन्ने विषयमा कुनै जानकारी सार्वजनिक गरेको छैन।
सिनेमाका निर्माता किरण नेपालीका अनुसार अबको एक साताभित्र सम्पूर्ण छायांकन सम्पन्न हुने अपेक्षा गरिएको छ। लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण भइरहेको यस सिनेमामा हिमाल कडरिया र अमलादेवी राईको लगानी रहेको छ।
महेश दवाडीको लेखन तथा लक्ष्मण सुनारको निर्देशनमा तयार भइरहेको यस सिनेमामा सरोज नेपाली कार्यकारी निर्माता छन्। कलाकारहरूको सूची निकै आकर्षक रहेको छ जसमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी र बेगम नेपालीको अभिनय समावेश गरिएको छ।
निसाल पौडेलको छायांकन रहेको यो सिनेमाको प्रदर्शन मिति भने अझै तय गरिएको छैन। छायांकनकै क्रममा अभिनेता अर्पण थापाको लुक्स सार्वजनिक गर्नुले दर्शकको चासो झनै बढाएको छ। अर्पणले यसअघि कहिल्यै नगरेको शैलीमा प्रस्तुत हुने भएकाले उनीप्रति दर्शकको उत्साह विशेष देखिएको छ।
‘कल्ली’ ले नेपाली सिनेमामा नयाँ स्वाद ल्याउने अपेक्षा गरिएको छ।