तेश्रो प्रदेशस्तरीय बहिरा क्रिकेट स्पर्धा विराटनगरमा सुरु हुँदै

विराटनगर /  कोशी प्रदेशमा तेश्रो प्रादेशिक बहिरा क्रिकेट स्पर्धा २०८१ को आयोजना हुने भएको छ। बुधबार ट्राफिक चोकमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले बिहीबारदेखि चार दिनसम्म चल्ने उक्त प्रतियोगिता विराटनगर–१९ स्थित वैधनाथपुर क्रिकेट ग्राउण्डमा हुने जानकारी दिएका हुन्।

स्पर्धामा मोरङ, झापा, सुनसरी बहिरा क्रिकेट संघ र विराट बहिरा माध्यमिक विद्यालय गरी चार टोलीको सहभागिता रहनेछ। प्रतियोगिता २० ओभरको फारम्याटमा खेलाइनेछ।

स्पर्धा आयोजना गर्न कोशी प्रदेश खेलकुद विकास बोर्डले ८ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ भने विराटनगर महानगरपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको छ। सुन्दरहरैंचा नगरपालिकाले खेलाडीका लागि जर्सी उपलब्ध गराएको छ।

राष्ट्रिय बहिरा क्रिकेट संघका अध्यक्ष मोहन तिवारीले अपाङ्गता भएका व्यक्तिहरूलाई कम अवसर हुने बताए। उनले मौका पाउँदा बहिरा व्यक्तिहरूले पनि असाधारण प्रदर्शन गर्ने क्षमता राख्ने बताए। बजेट अभावले प्रतियोगिता वृहत रूपमा गर्न नसकिएको जनाउँदै उनले आगामी दिनमा प्रदेशस्तरीय स्पर्धालाई राष्ट्रिय स्तरमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

मोरङ टिमका उपकप्तान हिमाल गुरागाईंले क्रिकेट खेल्न पाउँदा गौरव महसुस भएको बताए। उनले क्रिकेटमा संवादभन्दा इसाराले काम चल्ने भएकाले बहिरा खेलाडीहरूका लागि यो खेल उपयुक्त भएको बताए।

दोभाषे सन्तोषी घिमिरेले बहिरा प्रतिभा उजागर गर्न बोर्डले सहयोग गरेको भन्दै समाजमा अपाङ्गता भएका व्यक्तिहरूलाई मुख्य धारमा ल्याउन यस्ता प्रतियोगिताले सहयोग गर्ने बताइन्।

स्पर्धाको उद्घाटन प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले गर्ने तय गरिएको छ। प्रतियोगितामा प्रथम हुने टोलीलाई ट्रफी र नगद ९० हजार तथा द्वितीय हुने टोलीलाई ट्रफी र नगद पुरस्कार प्रदान गरिनेछ।

 

Add a Comment

Your email address will not be published. Required fields are marked *