धनकुटा र उदयपुरमा सवारी दुर्घटना, ४ जनाको मृत्यु, १२ घाइते
विराटनगर / धनकुटा र उदयपुरमा छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
वैशाख २२ गते बिहान सवा १० बजे धनकुटा नगरपालिका–६ स्थित कोशी लोकमार्गमा धरानबाट भोजपुरतर्फ जाँदै गरेको को.१ ख २१७७ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दा १४ जना यात्रु घाइते भएका थिए। घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
उपचारको क्रममा बस चालक धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय रुद्र तामाङ, भोजपुर षडानन्द नगरपालिका–१३ का ५८ वर्षीय लिला बहादुर श्रेष्ठ र धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको छ। अन्य ११ जना यात्रुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
उस्तै, सोही दिन अपरान्ह पौने ४ बजे उदयपुरको चौदण्डीगढी नगरपालिका–४ वर्षेडाँडामा खोटाङबाट इटहरीतर्फ जन्ती लिएर जाँदै गरेको को.१ ख ४७२१ नम्बरको बसबाट ओर्लिएर सडक पार गर्ने क्रममा दुई जन्तीलाई ना.३ त ८१० नम्बरको ट्र्याक्टरले ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएकी हलेसी तुवाचुङ नगरपालिका–४ की ४० वर्षीया गीता परियारको उपचारका क्रममा नगर अस्पताल बेल्टारमा मृत्यु भएको हो। अर्का घाइते, इटहरी–२० का २३ वर्षीय युजन राईको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि ट्र्याक्टर चालक विजय विक र बस चालक पुरुषोत्तम पोखरेललाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ। दुवै घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।