महिलाहरूको हातमा नौमति बाजा: मौलिक संस्कृतिको संरक्षणसँगै आत्मनिर्भरताको यात्रा
विराटनगर / नेपाली समाजमा परम्परागत रूपमा पुरुषद्वारा बजाइने नौमति पञ्चे बाजा अब महिलाहरूको हातमा पनि गुन्जिन थालेको छ। नेपाली मौलिकता र सांस्कृतिक धरोहरको रूपमा चिनिने नौमति बाजाको संरक्षण र महिलाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ विराटनगरमा विशेष तालिम सुरु गरिएको छ।
विराटनगर महानगरपालिका–८ को आर्थिक सहयोगमा, राष्ट्रिय उपभोक्ता मञ्च मोरङ र समृद्धि नेपालको संयोजनमा १५ दिने ‘नौमति पञ्चे बाजा तालिम’ आजदेखि सुरु भएको हो। तालिमको उद्घाटन उप–मेयर शिल्पा निराला कार्कीले गर्नुभयो। कार्यक्रममा वडा अध्यक्ष राम पोखरेल, वडा सचिव मनोज मल्लिक, वडा सदस्य पवित्रा गजमेर, समाजसेवी राजन भण्डारी तथा आयोजक संस्थाका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति थियो।
उप–मेयर कार्कीले उद्घाटन कार्यक्रममा भनिन्, “नौमति बाजा जस्तो मौलिक संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता हो। महिलाहरूलाई सिपमुलक तालिममार्फत आत्मनिर्भर बनाउँदै संस्कृति संरक्षणमा समेत जोड दिनु सकारात्मक संकेत हो।”
नौमति बाजा—जहाँ दमाह, ढोलक, ट्याम्को, नरसिंगा, झ्याम्टा लगायत ९ वटा बाजा एकैसाथ बजाइन्छन्— परम्परागत रूपमा पुरुषहरूले मात्र बजाउने प्रचलन रहिआएको छ। तर हालको तालिमले यो परम्परालाई चुनौती दिँदै महिलाहरूलाई अगाडि ल्याउने प्रयास गरेको छ। वडा अध्यक्ष राम पोखरेलका अनुसार, “यस तालिममा सहभागिता जनाउने महिलाहरूले सिप सिकेर विवाह, ब्रतबन्ध, पूजा तथा अन्य शुभ कार्यमा सहभागी भई आम्दानीसमेत गर्न सक्नेछन्। यसले आत्मनिर्भरता बढाउनेछ।”
संस्कृति संरक्षणको बहानामा महिलालाई सशक्त बनाउने यो कार्यक्रम सामाजिक दृष्टिकोणले समेत महत्वपूर्ण छ। पछिल्ला वर्षहरूमा मोरङ क्षेत्रमा महिलाको संलग्नतासँगै बाजा निर्माण तथा बजाउने सिप सिक्ने चासो बढेको आयोजकले जनाएको छ!
वडा कार्यालयले आगामी दिनमा अन्य सिपमूलक तालिम पनि सञ्चालन गर्ने जनाएको छ। “वडाभित्रका नागरिकलाई रोजगारीमुखी तालिममार्फत आर्थिक सशक्तीकरण गर्दै लैजाने हाम्रो लक्ष्य हो,” वडा अध्यक्ष पोखरेलले बताए।
यस तालिममा सहभागी महिलाहरूलाई प्रशिक्षकहरूद्वारा दैनिक अभ्यास, सांस्कृतिक महत्वको जानकारी र व्यावसायिक उपयोगबारे समेत प्रशिक्षण दिइनेछ। कार्यक्रम समापनपछि सहभागिहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिनेछ।