कानेपोखरीमा सांसद चढेको गाडी र डीएसपीले चलाएको गाडी ठोक्किएर दुर्घटना
विराटनगर। मोरङको कानेपोखरीमा प्रदेश सांसद चढेको कार र प्रहरी नायब उपरीक्षक (डीएसपी) ले चलाएको गाडी आपसमा ठोक्किएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने कानेपोखरी गाउँपालिका–७ मा सोमबार दिउँसो दुर्घटना भएको हो।
झापाबाट विराटनगर आउँदै गरेको बा५च ३५३० नम्बरको कार र विराटनगरबाट झापा जाँदै गरेको बीएई १४०६ नम्बरको ठोक्किएर दुर्घटना भएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार सवारी साधन क्षतिग्रत भए पनि दुर्घटनामा कुनै मानवीय क्षति भने भएन।
बीएई १४०६ नम्बरको कारमा कोशीका सांसदहरु मैयाँ श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ थिए। प्रदेशसभा बैठकमा सहभागी हुन विराटनगर आउँदै गरेका बेला उनीहरु दुर्घटनामा परेका हुन्।
लावती नेपाली कांग्रेस, धिमाल नेकपा (एमाले) र चाम्लिङ नेकपा (एकीकृत समाजवादी) का समानुपातिक सांसद हुन्। खनाल झापाको निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित एमाले सांसद हुन्।
उक्त कार झापाको दमक नगरपालिका–१ का ४० वर्षीय भेषराज श्रेष्ठले चलाएका थिए। प्रहरीका अनुसार बा ५ च ३५३० नम्बरको कार झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले चलाएका थिए। उनी विराटनगरस्थित घरबाट कार्यक्षेत्र झापा फर्किदै थिए।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पथरीबाट इन्स्पेक्टर खगेन्द्र एक्तेन नेतृत्वको टोली घटनास्थल पुगेको थियो।