भारतीय नागरिकमाथि लुटपाटमा संलग्न तीन जना पक्राउ

विराटनगर। काठमाडौंमा भारतीय नागरिकमाथि लुटपाट गर्ने गिरोहमा संलग्न तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ का २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरणकुमार मोक्तान र नीलकुमार तामाङ रहेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौंको नयाँबजार क्षेत्रबाट गएको शुक्रबार (असार २०) पक्राउ गरेको हो।

प्रहरीका अनुसार ती तीनजनाले भारतीय नागरिकलाई होटेल खोज्न सहयोग गर्ने बहानामा गोंगबुको ध्रुवतारा कम्प्लेक्ससम्म लगेर लुटपाट गर्दै आएका थिए। एसपी काजीकुमार आचार्यका अनुसार उनीहरू लामो समयदेखि यस्तो किसिमको आपराधिक गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेकामाथि जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले राजधानीमा विदेशी नागरिकलाई लक्षित आपराधिक क्रियाकलापप्रति निगरानी कडा बनाइएको पनि जानकारी दिएको छ।

Add a Comment