मोरङको सुनवर्षीमा सवारी दुर्घटनामा परी कटुवालको मृत्यु

सुनवर्षी / मोरङको सुनवर्षी नगरपालिका–३ तल्लो भेलाइ टोलस्थित भित्री पक्की सडकखण्डमा आज (शुक्रबार) साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सुनवर्षीबाट खैरबारीतर्फ जाँदै गरेको प्र१–०२–००३त ०७५२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०४–००१प ४०११ नम्बरको २२० सिसीको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी नगरपालिका–३ निवासी ३१ वर्षीय भुपेन्द्र कटुवाल गम्भीर घाइते भएका थिए। टाउको र दाहिने खुट्टामा गम्भीर चोट लागेका कटुवाललाई तत्कालै उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लैजाने क्रममा राति ८:३७ बजे डाक्टरले मृत घोषणा गरेका थिए।

घटनापछि ट्याक्टर चालक सुनवर्षी नगरपालिका–४ निवासी २९ वर्षीय संजित कुमार महतो प्रहरी नियन्त्रणमा रहेका छन्। साथै ट्याक्टर र मोटरसाइकल दुवै सवारी साधनसमेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *