लागू औषध सहित ६ जना पक्राउ
बिराटनगर। सुनसरी र ताप्लेजुङ जिल्लामा प्रहरीले विशेष अभियान सञ्चालन गरी लागू औषधसहित ६ जनालाई पक्राउ गरेको छ।
प्राप्त विवरणअनुसार, जेठ २४ गते प्रहरी चौकी नरसिंहटप्पु, सुनसरीबाट खटिएको टोलीले चेकजाँचको क्रममा ईटहरी–१७ का २९ वर्षीय अविनाश चौधरीलाई ३५ ग्राम ११० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
त्यस्तै, इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–६ बाट लागू औषधसहित सोही स्थानका २९ वर्षीय सन्तोष श्रेष्ठ र २९ वर्षीय जीवन बुढाथोकीलाई पक्राउ गरेको छ। उनीहरूबाट प्रहरीले ९२ एम्पुल लागू औषध बरामद गरेको जनाएको छ।
यसैगरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र–१ बाट १९ किलोग्राम गाँजासहित प्रदेश १–०२–०५१ प ४८२३ नम्बरको मोटरसाइकल चालक, धनकुटा–९ का २१ वर्षीय लक्ष्मण माझीलाई नियन्त्रणमा लिएको छ।
ताप्लेजुङमा पनि लागू औषध कारोबारमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। फुङलिङ नगरपालिका–७ निवासी तथा हाल फुङलिङ–६ मा डेरा गरी बस्दै आएका २६ वर्षीय सुजन तामाङलाई ७ ग्राम ३० मिलिग्राम ब्राउन सुगर र १ थान डिजिटल तराजुसहित कोठाबाट पक्राउ गरिएको हो। यस्तै, भारतको दार्जिलिङका २३ वर्षीय नितेन वर्मनलाई लागू औषध बेचबिखनमा संलग्न रहेको अभियोगमा फुङलिङ–२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
पक्राउ परेकामाथि लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।