वाइआरसीसी विराटनगरले जित्यो चौथो मिल्स कप इण्डो–नेपाल टी२० क्रिकेट उपाधि
विराटनगर। चौथो मिल्स कप इण्डो–नेपाल टी२० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको वाइआरसीसी क्रिकेट क्लबले जितेको छ। शनिबार विराटनगर जुट मिलको मैदानमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन विराटनगरले भारत पटनाको हाइपर क्रिकेट क्लबलाई ८ विकेटले हराउँदै उपाधि जितेको हो।
जितसँगै विराटनगरले २ लाख १ हजार रुपैयाँ र ट्रफी पाएको छ। उपविजेता पटनाले १ लाख १ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको पटनाले १६ ओभर ३ बल खेल्दै सबै विकेटको क्षतिमा १ सय १ रन बनायो। सुदर्शन कुमारले ४६ रन, पुरुषोत्तम कुमारले १६ रन र नन्द किशोरले ११ रन बनाए।
बलिङमा विराटनगरका हेमन्त धामी र राम नरेश गिरीले समान ३–३ विकेट लिए। विराटनगरले पाएको १ सय २ रनको लक्ष्य ८ ओभरमा २ विकेट गुमाउँदै विजयी भयो। ७२ रन बनाएका इमरान शेखले प्लेयर अफ द म्याच हुँदै ३ हजार रुपैयाँ प्राप्त गरे भने शुभ कंसकारले १२ रन, लोकेस बमले १६ रन बनाए।
बलिङमा पटनाका रोहन दास गुप्ता र नन्द किशोरले समान १–१ विकेट लिए। मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा भएको प्रतियोगितामा नेपालका ६ र भारतका ६ गरी १२ टोलीको सहभागिता थियो।
प्रतियोगिताको उत्कृष्ट खेलाडी वाइआरसीसीका नरेश गिरीले २५ हजार रुपैयाँ पाए भने बेस्ट बलर होराइजनका दीपेश कँडेल र बेस्ट ब्यटरमा पटनाका कुमार श्रेयले जनही १५–१५ हजार रुपैयाँ प्राप्त गरे। नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहले खेलाडीहरूलाई पुरस्कार प्रदान गरे।