डा. महाविर पुन र देवकीनन्द अग्रवाल बबरसिंह–देवकुमारी थापा सेवा गुठीद्वारा सम्मानित

विराटनगर / समाजसेवा र नवप्रवर्तनको क्षेत्रमा सक्रिय योगदान पु¥याउँदै आएका दुई व्यक्तित्वलाई बबरसिंह–देवकुमारी थापा सेवा गुठी, विराटनगरले आज सम्मान गरेको छ।

सामाजिक अभियन्ता एवं बैज्ञानिक डा. महाविर पुनलाई रु ५० हजार राशीको देवकुमारी थापा स्मृति सम्मान प्रदान गरिएको हो। यस्तै, कोशी अस्पतालमा दैनिक २५० जनालाई निःशुल्क खाना खुवाउँदै आएका नर सेवा, नारायण सेवा परिवारका उपाध्यक्ष देवकीनन्द अग्रवाललाई रु २५ हजार राशीको बबरसिंह थापा सम्मान दिइएको छ।

उनीहरूलाई प्रा. कृष्ण पोखरेल, गुठीका अध्यक्ष कविराज न्यौपानेलगायतले सम्मानपत्रसहित सम्मान गरेका हुन्।

कार्यक्रममा सम्मानित हुँदै डा. पुनले समाजलाई सहज रुपमा सञ्चालन गर्न प्रविधिको प्रयोग अपरिहार्य भएको बताए। उनले आफ्नै आत्मकथा ‘महाविर पुन: सम्झना, सपना र अविरल’ पुस्तकका २ लाख प्रति ४१ जिल्लामा विक्री भइसकेको र ३ लाख प्रति विक्री गर्ने लक्ष्य रहेको जानकारी पनि दिए। सो पुस्तक बिक्रीबाट प्राप्त रकम कृषि औजार कारखाना सञ्चालनमा लगानी गरिने उनले बताए।

त्यस्तै, देवकीनन्द अग्रवालले सम्मानस्वरूप प्राप्त राशीमा थप गरी विराटनगर–८ स्थित ज्येष्ठ नागरिक आश्रमलाई सहयोग गर्ने घोषणा गरे। उनले अहिलेसम्म कोशी अस्पतालमा आएका करिब १ लाख ४० हजार विरामी तथा कुरुवालाई बिहानको खाना निःशुल्क प्रदान गरिएको जानकारी पनि दिए।

कार्यक्रममा बोल्ने वक्ताहरू प्रा. पोखरेल, साहित्यकार प्रमोद प्रधान, गंगा सुवेदी, हरिमोहन श्रेष्ठ र दिनेश श्रेष्ठले समाजसेवा र साहित्यको विकासमा गुठीले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।