संखुवासभा र विराटनगरमा लागूऔषधसहित चार जना पक्राउ
विराटनगर/ संखुवासभा र मोरङ जिल्लामा लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार विशेष सूचनाका आधारमा संखुवासभाको इलाका प्रहरी कार्यालय चैनपुर र अस्थायी प्रहरी चौकी पिलुवा खोलाबाट खटिएको प्रहरी टोलीले धर्मदेवी नगरपालिका–४ स्थितबाट तीन जनालाई अफिमसहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा धर्मदेवी नगरपालिका–४ का राम बहादुर अधिकारी, केशव घिमिरे र मादी नगरपालिका–६ का देवेन्द्र थापा रहेका छन्। उनीहरूलाई अफिमजन्य पदार्थ बिक्री वितरण गरिरहेको अवस्थामा १२ ग्राम ३९० मिलिग्राम अफिमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, मोरङको विराटनगर–१५ स्थितमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले चेकजाँचका क्रममा सुन्दरहरैचा नगरपालिका–२ का ३१ वर्षीय सरन डाँगीलाई २ ग्राम ४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
पक्राउ परेका सबै व्यक्तिहरूमाथि लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।