झापा, मोरङ, सुनसरी र भोजपुरबाट ब्राउन सुगर सहित १२ जना पक्राउ
विराटनगर / झापा, मोरङ, सुनसरी र भोजपुरका विभिन्न स्थानहरूबाट वैशाख २८ गते लागूऔषध ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
झापाको बुद्धशान्ति गाउँपालिका–३, बुधबारे बजारस्थित इलाका प्रहरी कार्यालय बुधबारेको टोलीले ३३ वर्षीय उत्तम कार्कीलाई ३ ग्राम १५० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ। त्यसैगरी, अस्थायी प्रहरी पोष्ट बसपार्क झापाले बुटवल नगरपालिका–३, रुपन्देहीकी २५ वर्षीया निर्मला थापालाई ५२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
लागूऔषध नियन्त्रण ब्युरो विराटनगरले विराटनगर महानगरपालिका–१५ र १६ बाट धरान उपमहानगरपालिका–१२ का २९ वर्षीय बसन्त तामाङलाई २ ग्राम ८८ मिलिग्राम र मोरङको सुन्दरहरैचा नगरपालिका–३ का २० वर्षीय दिवश तामाङलाई १ ग्राम ७१ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगरले सुनसरीको बराहक्षेत्र नगरपालिका–७, सोमबारेस्थित २५ वर्षीय धिरज राईलाई २ ग्राम ३५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
भोजपुरमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरको टोलीले भोजपुर नगरपालिका–७ स्थित २४ वर्षीय संजय राईको कोठाबाट ३ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर, १८ ग्राम गाँजा र ७० हजार रुपैयाँ नगद बरामद गरेको छ। उक्त घटनासँग सम्बन्धित भोजपुरका मौसम राई (१९), रेन्जि शेर्पा (२०), संगित राई (२०), युकेश राई (२०), उचित राई (१९), र दिपेश राई (२९) समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका सबैविरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।