कक्षा १२ को परीक्षा अन्योलमा, आन्दोलन फिर्ता नभए स्थगन हुने संकेत

काठमाडौं / आन्दोलनरत शिक्षकहरूले आन्दोलन फिर्ता नगरेमा कक्षा १२ को परीक्षा स्थगन हुने अवस्था सिर्जना भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबारसम्म पनि विद्यालय नखुले र शिक्षकहरूले केन्द्रमा प्रवेश नगरे परीक्षा सञ्चालन असम्भव हुने स्पष्ट पारेको छ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा लिन बोर्ड पूर्ण रूपमा तयार भए पनि परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने शिक्षकहरू केन्द्रमा प्रवेश नगरेसम्म सम्भव नहुने बताए। “हामी प्रश्नपत्र एक दिनअघिसम्म पठाएर पनि तयारी अवस्थामा छौं, तर केन्द्राध्यक्ष र निरीक्षक बिना परीक्षा लिन सकिंदैन,” शर्माले भने।

बोर्ड स्रोतका अनुसार सोमबारसम्म आन्दोलन फिर्ता नभए वैशाख ११ बाट सुरु हुने भनिएको परीक्षा स्थगन हुने निश्चितजस्तै भएको छ। बोर्डले परीक्षा सञ्चालनको विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, जिल्लास्तरीय परीक्षा समन्वय समिति लगायतसँग छलफल जारी राखेको जनाएको छ।

नेपाल संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)का अध्यक्ष होमकुमार थापाले केही दिन परीक्षा स्थगन हुँदा ठूलो असर नपर्ने बताउँदै, सरकार शिक्षकका मागप्रति गम्भीर नभएको आरोप लगाए। महासंघले आजदेखि सबै निजी विद्यालय बन्द गर्न समेत आग्रह गरिसकेको छ।

यस वर्षको कक्षा १२ को परीक्षामा ५ लाख ५१ हजार परीक्षार्थी सहभागी हुँदै छन्। १ हजार ५९१ परीक्षा केन्द्रमध्ये अधिकांश सामुदायिक विद्यालयमा छन्। परीक्षा सञ्चालनका लागि करिब ४४ हजार जनशक्ति खटिने तयारी थियो, जसमा विद्यालयका प्राचार्य, शिक्षक, कर्मचारी र कार्यालय सहयोगी सम्मिलित छन्।

राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका केन्द्रमा पु¥याइसकेको र प्रश्नपत्र अनलाइनमार्फत पठाइने हुँदा त्यो पक्षमा कुनै समस्या नरहे पनि आन्दोलनका कारण केन्द्रमा केन्द्राध्यक्ष नपुगेकाले परीक्षा सञ्चालनमा गम्भीर असर परेको जनाएको छ।

“परीक्षा भएन भने अन्तर्राष्ट्रिय स्तरमा मुलुकको साख गिर्छ,” बोर्ड अध्यक्ष शर्माले भने, “शिक्षकहरूले परीक्षा अवरुद्ध गर्नु हुँदैन। सबैले सहयोग गर्न आवश्यक छ।”

Add a Comment

Your email address will not be published. Required fields are marked *