September 20, 2025
कुन कुन स्थानमा आज बर्षा हुने?
विराटनगर । मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा दक्षिणतर्फ र पूर्वमा सरदर स्थानकै आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका बाँकी पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी तराई भू-भागमा आंशिक बदली रहनेछ।
कोशी र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका अन्य भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ।
त्यस्तै, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ। राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा अन्य पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ।