ताप्लेजुङमा बोलेरो जिपमा करेन्ट लागेर आगलागी : ४ जनाको मृत्यु, २ घाइते

ताप्लेजुङ / ताप्लेजुङको फुङलिङ नगरपालिका–१० काफ्लेपाटी सडकखण्डमा सोमबार बिहान बोलेरो जिपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

फुङलिङ बजारबाट तीर्थयात्री बोकेर पाथीभरा मन्दिर जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा बिहान ४ः५० बजेतिर आगलागी भएको हो। प्रारम्भिक अनुसन्धान अनुसार, सडकमा लत्रिएको विद्युत् तार गाडीमा छोइएर आगलागी भएको बताइएको छ।

घटनास्थलमै ज्यान गुमाउनेमा जिप चालक ४५ वर्षीय दुर्गा भट्टराई (फुङलिङ नगरपालिका–१०, फुरुम्बु), १६ वर्षीया आध्या आचार्य, उनका हजुरबुवा ७० वर्षीय विनोद पौडेल (झापा भद्रपुर–१५) र हजुरआमा ६९ वर्षीया सरिता पौडेल रहेका छन्।

घटनामा गम्भीर घाइते भएकी ललितपुरकी ४५ वर्षीया सविना आचार्य (सन्ध्या) लाई थप उपचारका लागि हेलिकोप्टरमार्फत अन्यत्र लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। उनका ९ वर्षीय छोरा अभियव आचार्य सामान्य घाइते छन्।

घटनास्थलमा रहेका पत्रकार वसन्त लिम्बूका अनुसार तीर्थयात्रीहरू ललितपुरबाट पाथीभरा दर्शनका लागि आएका थिए। हाल घटनास्थलमा थप अनुसन्धान तथा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।