टिकटकमा पेस्तोल देखाएर भिडियो बनाउने युवक पक्राउ

बिराटनगर / टिकटकमा पेस्तोल देखाएर भिडियो बनाउने एक युवकलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा शुद्धोधन गाउँपालिका–६ महादेव निवासी २१ वर्षीय रघुबिन्द यादव रहेका छन्। उनले वैशाख ६ गते साँझ करिब ६:३० बजे पेस्तोल देखाएको भिडियो सामाजिक सञ्जाल टिकटकमा पोष्ट गरेका थिए।

उक्त भिडियो भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु अन्तर्गत इलाका प्रहरी कार्यालय पकडीको टोलीले उनलाई मायादेवी गाउँपालिका–१ स्थित मायादेवी होटलबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार यादवलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य अघि बढाइएको छ। प्रहरीले सामाजिक सञ्जालमा हतियार देखाएर त्रास फैलाउने गतिविधि नियन्त्रण गर्न सक्रियता बढाएको जनाएको छ।