निषेधित औषधी र खैरो हिरोइन सहित ६ जना पक्राउ
विराटनगर। पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा निषेधित औषधी र लागू पदार्थ कारोबारमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङ, झापा र सुनसरी जिल्लामा खटिएको प्रहरी टोलीले वैशाख २३ गते विभिन्न स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।
मोरङको विराटनगर-१६ बाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरको टोलीले सुनसरी इटहरी उपमहानगरपालिका-३ का २३ वर्षीय एमन खापुङलाई खैरो हिरोइन १ ग्राम १५ मिलिग्राम सहित पक्राउ गरेको छ।
त्यस्तै, इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले मोरङको उर्लाबारी नगरपालिका-४ स्थित आईतवारेमा कोठा भाडामा बस्दै आएका ४२ वर्षीय योगेन्द्र तुङहाङलाई प्रतिबन्धित औषधी ४० चक्की र खैरो हिरोइन ३१० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ।
झापाको बिर्तामोड-८ स्थितमा कोठा भाडामा बस्दै आएका २६ वर्षीय खड्ग सिंह माझी र २० वर्षीय मुस्कान भुजेललाई पनि गरामनीस्थित अस्थायी प्रहरी चौकीको टोलीले खैरो हिरोइन ३ ग्राम २२० मिलिग्राम सहित पक्राउ गरेको हो।
यसैगरी, सुनसरीको धरान-८ का ३८ वर्षीय मनोज विश्वकर्मालाई Spasmoproxyvon ८९२ क्याप्सुल, नाइट्रोसन ७० चक्की र ESCUF ४० बोतल सहित नियन्त्रणमा लिइएको छ। त्यस्तै, कैलाली धनगढीका ३१ वर्षीय वसन्त राजवंशी उर्फ निखिललाई धरान-३ मा रहेको क्वालिटी फुड कर्नर होटल एण्ड लजबाट Spasmoproxyvon ३७० क्याप्सुल सहित पक्राउ गरिएको हो।
पक्राउ परेका सबैविरुद्ध लागू औषध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।