सप्तरीका पाँच वर्षीय बालक विशाल सदा जीवन र मृत्युबीच संघर्षमा, विराटनगरको पारस अस्पतालमा उपचार जारी
सरिता कर्मकार
विराटनगर। सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. १ निवासी ४२ वर्षीय ललित सदा र ललिता सदाका पाँच वर्षीय छोरा विशाल सदा हाल विराटनगरस्थित पारस अस्पतालको पिएसियु कक्षमा जीवन र मृत्युबीच संघर्ष गरिरहेका छन्।
प्रायः एक महिनादेखि पेट फुल्ने समस्याले ग्रसित भएका विशालको प्रारम्भिक उपचार लहानको एक निजी अस्पतालमा गरिएको थियो। तर त्यहाँ रोगको पहिचान हुन नसकेपछि उनलाई राजविराजको अर्को अस्पतालमा लगियो। विस्तृत परीक्षणपछि विशालको मृगौलामा समस्या देखिएपछि ठूला अस्पतालमा लैजान सल्लाह दिइएको थियो। आर्थिक अवस्था कमजोर भएका कारण ललित सदा छोरालाई नोवेल अस्पताल विराटनगर लगे पनि ५०–६० हजार धरौटी मागिएपछि उपचार सम्भव भएन।
विपन्न परिवार घर फर्कन सिटी सफारी चढे पनि चालकको भूलले विराटनगरको हाटखोला बस पार्कमा पु-याइयो। त्यहाँ विशाल गम्भीर अवस्थामा भेटिएपछि स्थानीयको पहलमा मिडिया मार्फत खबर फैलियो। त्यसपछि पारस अस्पतालले एम्बुलेन्समार्फत उनलाई ल्याएर निःशुल्क उपचार सुरु गर्यो।
विशाललाई नेफ्रोटिक सिन्ड्रोम नामक रोग लागेको पत्ता लागेको छ, जसले गर्दा उनको शरीरमा पानी जम्ने र पेट फुल्ने समस्या उत्पन्न भएको हो। पारस अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताका अनुसार विशालको अवस्था गम्भीर रहेकाले तुरुन्त उपचार सुरु गरिएको हो। अस्पतालले सम्पूर्ण उपचार खर्च मिनाहा गर्ने निर्णय गरेको छ, तर औषधिको खर्च परिवारले बेहोर्नुपर्ने भएकाले सहयोगको खाँचो रहेको छ।
बालरोग विशेषज्ञ डा. फडिन्द्र साहका अनुसार अहिले बिरामीको पेटबाट २०० एमएल पानी निकालिएको छ र स्वास्थ्यमा केही सुधार आएको छ। विशालले खाना खान थालेको र पेट पनि घट्दै गएको जनाइएको छ।
बिरामीका पिता ललित सदा दाउरा बेचेर जीविकोपार्जन गर्दै आएका छन्। उनले औषधिको दैनिक खर्च जुटाउन कठिनाइ भइरहेको बताउँदै मनकारी व्यक्तिहरूले छोराको जीवन बचाउन आर्थिक सहयोग गर्न अपील गरेका छन्। विशाललाई दैनिक एल्बुमिन औषधि चाहिन्छ, जसको मूल्य रु १२,५०० पर्छ। आर्थिक अवस्था कमजोर भएको कारण बिशाल सदाको परिवारले सबै सँग सहयोगको लागी आहवान गरेका छन् ।