कश्मीरको पहलगाममा आतंकवादी आक्रमण : एक नेपालीसहित २६ पर्यटकको मृत्यु
काठमाडौं । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ भन्दा बढी पर्यटकको ज्यान गएको छ। यो घटना पछिल्लो दशकको एक भयानक आतंकवादी हमला भएको बताइएको छ।
मंगलबार भएको उक्त आक्रमणमा नेपालका सन्दीप न्यौपानेको ज्यान गएको पुष्टि भएको छ। घटनामा २० भन्दा बढी पर्यटक घाइते भएका छन्।
बैसरन उपत्यकामा बन्दुकधारी आतंककारीहरूले पर्यटकमाथि नाम सोध्दै टाउकोमा गोली प्रहार गरेका थिए। लश्कर–ए–तैयबाले घटनाको जिम्मेवारी लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
मृतकमध्ये एक यूएईका पर्यटक, दुई स्थानीय तथा बाँकी भारतका गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशा राज्यका नागरिक रहेको जनाइएको छ।
यो हमला सन् २०१९ मा पुलवामामा भएको आक्रमणपछि कश्मीरमा भएको सबैभन्दा ठूलो आतंकवादी हमला मानिएको छ। पुलवामा आक्रमणमा ४० सुरक्षाकर्मीको ज्यान गएको थियो।
घटनापछि भारतीय सुरक्षाबलले आक्रमण भएको क्षेत्रलाई पूर्ण रूपमा घेराबन्दी गरेको छ र आतंककारीहरूको खोजी कार्य जारी रहेको जनाइएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटनाको कडा निन्दा गर्दै दोषीलाई कडा कारबाही गरिने प्रतिवद्धता जनाएका छन्। उनी आफ्नो विदेश भ्रमण छोट्याएर आज दिल्ली फर्कन लागेका छन्।
गृह मन्त्री अमित शाह स्वयं घटनास्थलतर्फ प्रस्थान गरेका छन् र दोषीलाई कुनै हालतमा उन्मुक्ति नदिने चेतावनी दिएका छन्।
कांग्रेस नेता राहुल गान्धीले यो घटनालाई ‘हृदयविदारक’ भन्दै सङ्घीय सरकारको सुरक्षा रणनीतिमा प्रश्न उठाएका छन्। उनले सरकारलाई पूरा जिम्मेवारी लिनुपर्ने माग समेत गरेका छन्।