धरानबाट चोरी भएको बस विराटनगरमा फेला

विराटनगर/ सुनसरीको धरानबाट चोरी भएको यात्रुबाहक बस विराटनगरमा फेला परेको छ।

धरान उपमहानगरपालिका–८ दुर्गापथस्थित एक ग्यारेजबाट चोरी गरिएको प्रदेश १–०१–००१ ख ९७४९ नम्बरको बस आज दिउँसो विराटनगर महानगरपालिका–१२ मंगलबारेमा वेवारिसे अवस्थामा फेला परेको हो।

प्रहरीका अनुसार शुक्रबार राति चोरी भएको बस खोजी गर्ने क्रममा पाटपूर्जा निकालिएको अवस्थामा भेटिएको हो। बसको अगाडिको सिसाको माथिल्लो भागमा ‘सिद्धदेवी यातायात’ र तल्लो भागमा ‘याक्थुङ यातायात’ लेखिएको छ।

बस चोरीपछि पूर्व–पश्चिम राजमार्ग हुँदै खोर्सानेसम्म पुगेको देखिएको थियो, जुन सीसीटीभी फुटेजमा देखिएको प्रहरीको भनाइ छ। मंगलबार बस मंगलबारे क्षेत्रमा बेवारिसे अवस्थामा देखिएपछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए।

हाल चोरीमा संलग्न गिरोहको पहिचान तथा खोजी कार्य भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ।

 

Add a Comment

Your email address will not be published. Required fields are marked *