लागुऔषध सहित ६ जना पक्राउ
बिराटनगर/ मोरङ, उदयपुर, सुनसरी र धनकुटाका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई विशेष निगरानी तथा चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो।
जेठ ११ गते मोरङको बिराटनगर-१५ स्थित लागुऔषध नियन्त्रण ब्युरो, बिराटनगरबाट खटिएको प्रहरी टोलीले धनकुटाको शहिदभूमि गाउँपालिका–२ निवासी ३४ वर्षीय रमन राईलाई ४ ग्राम ७०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।
त्यस्तै, सुनसरीको धरान–८ बाट प्रदेश नं. १ को को. २४ प ६५२६ नम्बरको मोटरसाइकलमा सवार धनकुटा–१ निवासी २६ वर्षीय दीपक राई र तेह्रथुम छथर निवासी २८ वर्षीय आशिष लिम्बुलाई ८२० मिलिग्राम ब्राउन सुगरसहित अस्थायी प्रहरी चौकी तीनकुनेले नियन्त्रणमा लिएको हो।
उदयपुरको बेलका नगरपालिका–९ बाट इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले सोही स्थानका ३२ वर्षीय सबिन उर्फ कमलेस बस्नेतलाई १३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
यसैगरी, धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थितबाट इलाका प्रहरी कार्यालय भेडेटारको टोलीले चेकजाँचको क्रममा प्रदेश नं. १–०२–००१ ज ४५७५ नम्बरको इभी गाडीभित्र कालो झोलामा प्याक गरिएको १२ किलोग्राम गाँजासहित सोही स्थानका प्रवेश राई र गाडी चालक धनकुटा नगरपालिका–१ निवासी ३९ वर्षीय दिनेश तामाङलाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका सबैको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।