कोशी प्रदेशमा पहिलोपटक ‘भायानेट फस्ट कोशी आईटी समिट २०२५’ विराटनगरमा हुँदै
विराटनगर। कोशी प्रदेशको सूचना प्रविधि क्षेत्रको सम्भावना, अवसर र चुनौतीबारे गहन संवाद गर्ने उद्देश्यले ‘भायानेट फस्ट कोशी आईटी समिट २०२५ – पावर्ड बाई बीवाईडी’ यही शनिबार विराट मेडिकल कलेज, विराटनगरमा आयोजना हुने भएको छ। कार्यक्रमको आयोजना सीएनआईवाईईएफ कोशी च्याप्टरले गर्दैछ।
समिटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आईटी कम्पनीहरूमार्फत २० भन्दा बढी वक्ताहरूले आफ्ना विचार राख्नेछन् भने ५०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। सम्मेलनमा आईटी स्टार्टअप तथा कम्पनीहरूको प्रदर्शनी स्टल, नेटवर्किङ सेसन, र ब्रान्ड प्रमोशनका लागि डिजिटल तथा भौतिक उपस्थितिको समेत व्यवस्था गरिएको छ।
भायानेट समिटको टाइटल स्पोन्सर र बीवाईडी (BYD) पावर्ड बाई पार्टनरको रूपमा आवद्ध छन्। कार्यक्रमका सबै सेसन र गतिविधिहरू सीएनआईवाईईएफ कोशी च्याप्टरको युट्युब च्यानल तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार, सूचना प्रविधि क्षेत्र विश्वमै तीव्र गतिमा अघि बढिरहेको अवस्थामा यस सम्मेलनले कोशी प्रदेशमा आईटी क्षेत्रको विकास, युवाका लागि रोजगारी सृजना, नवप्रवर्तनको वातावरण निर्माण, र आर्थिक रुपान्तरणको आधार निर्माण गर्ने लक्ष्य लिएको छ।
यो सम्मेलन कोशी प्रदेशमै सूचना प्रविधिको क्षेत्रमा ऐतिहासिक सुरुआतको रूपमा लिइएको छ।
सूचना प्रविधिमा रुचि राख्ने विद्यार्थी, व्यवसायी, स्टार्टअप तथा आईटी विज्ञहरूका लागि यो समिट महत्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ।