माध्यमिक शिक्षा परीक्षा सुरु, ७३ वर्षीया सूर्यवती खनाल बने प्रेरणादायी परीक्षार्थी
काठमाडौं / माध्यमिक शिक्षा परीक्षा (कक्षा–१२) को वार्षिक परीक्षा आइतबारदेखि सुरु भएको छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन्।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा आउँदो जेठ २ गतेसम्म सञ्चालन हुनेछ। देशभर १,५९० परीक्षा केन्द्र र जापानमा एक परीक्षा केन्द्र तोकिएको छ। काठमाडौंमा सबैभन्दा धेरै १६२ परीक्षा केन्द्र तोकिएका छन् भने मनाङ र मुस्ताङ जिल्लामा एक/एक केन्द्र मात्र छन्।
परीक्षामा ५ हजार २०२ विद्यालयका नियमिततर्फ १,९८,८७५ छात्र र १,९७,०१३ छात्रा गरी ३,९५,९०८ परीक्षार्थी सहभागी भएका छन्। आंशिकतर्फ १,१५,६१७ परीक्षार्थीसहित कुल ५,११,५२५ जनाले फाराम भरेका छन्। बोर्डले कारागार तथा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिन विशेष व्यवस्था गरिएको जनाएको छ।
७३ वर्षीया परीक्षार्थी सूर्यवती खनाल
यस वर्षको परीक्षामा सबैभन्दा बढी ध्यान खिचेकी छिन् ७३ वर्षीया सूर्यवती खनाल। काठमाडौंको तारकेश्वर नगरपालिका–१०, मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुल परीक्षा केन्द्रबाट उनले परीक्षा दिइरहेकी छिन्।
उनको जन्म वि.सं. २००९ साउन ९ गते भएको हो। तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसकी विद्यार्थी खनाल चार छोराछोरीकी आमा तथा तीन नातिनातिनाकी हजुरआमा हुन्। उनले गोंगबुस्थित चेतना महिला माध्यमिक विद्यालयबाट एसईई परीक्षा उत्तीर्ण गरेकी थिइन्।
छोराछोरी हुर्किएपछि पुनः अध्ययन गर्ने चाहना जागेपछि उनले नियमित कक्षा लिई कक्षा १२ सम्म आइपुगेकी हुन्। उनका श्रीमान् स्वयं शिक्षक पेशामा आबद्ध छन्।
खनालको दृढ इच्छाशक्ति र शैक्षिक लगावले धेरैलाई प्रेरणा दिएको छ। उमेरले होइन, इच्छाशक्तिले सिकाइको सीमा निर्धारण गर्छ भन्ने सन्देश दिएकी उनी सामाजिक सञ्जालमा पनि प्रशंसा पाउँदैछिन्।