वैदेशिक श्रमिकको पीडा बोकेको ‘रियाल रिङ्गेट’ सिनेमाको अफिसियल ट्रेलर सार्वजनिक

विराटनगर। यही श्रावण १६ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली सिनेमा ‘रियाल रिङ्गेट’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। श्रावण सङ्क्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको ट्रेलरमा नेपाली युवाहरूले अपनाउन बाध्य वैदेशिक रोजगारी र त्यस क्रममा भोग्नुपरेका विभिन्न कठिनाइहरू देख्न सकिन्छ।

ट्रेलरका केही दृश्यहरू दिल चस्काउने प्रकारका छन्। ती दृश्यहरूले आतङ्कवादीको सामूहिक बन्दी बनाइएका तथा कब्जामा परेका नेपाली कामदारहरूको झल्को दिन्छन् भने सिनेमाका अभिनेता प्रमोद चौलागाईँले कब्जामा रहेकै बेला नेपालमा पठाएको भिडियो सन्देश टेलिभिजनमा प्रसारण भइरहेको समेत देखिन्छ।

ट्रेलर सार्वजनिक भएपछि सिनेमाका निर्देशक विभोर पोखरेलले ‘रियाल रिङ्गेट’लाई हरेक नेपालीको कथा रहेको बताए। उनले भने, “यस सिनेमाले वैदेशिक रोजगारीमा गएका नेपाली युवायुवतीहरूले भोग्नुपर्ने यथार्थ र उनीहरूको जीवनशैलीलाई नजिकबाट चित्रण गर्नेछ।”

सिनेमाको नाम ‘रियाल रिङ्गेट’ आफैँमा प्रतीकात्मक छ। ‘रियाल’ कतार र साउदी अरेबियाको मुद्रा हो भने ‘रिङ्गेट’ मलेसियाको मुद्रा हो। यी दुवै नामको संयोजनले नेपाली श्रमिकहरूको लागि मुख्य गन्तव्य मुलुकहरूलाई सङ्केत गर्छ, जहाँबाट लाखौँ नेपालीहरूले आफ्नो परिवारको गुजारा चलाउन र राम्रो भविष्यको खोजीमा काम गरिरहेका छन्।

सिनेमामा प्रमोद चौलागाईं र निता ढुङ्गानाका साथै छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय रहेको छ। सिनेमाको लेखन प्रदीप भारद्वाजले गरेका हुन्। रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको छ।

सिनेमाका गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको सङ्गीत रहेको छ भने सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनू रिजाल काफ्लेको स्वर सुन्न सकिन्छ। गीतका शब्दहरू अमर न्यौपाने, रवि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका हुन्। ‘रियाल रिङ्गेट’को छायाङ्कन भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा गरिएको छ। यो सिनेमालाई काफिया फिल्म्सले वितरण गर्नेछ। भिडियो हेर्नुहोस :

Add a Comment