कोशीटप्पु वन्यजन्तु आरक्षमा पर्यटकको चाप बढ्दै, राजस्व वृद्धि
सुनसरी / दुर्लभ अर्ना र विभिन्न प्रजातिका चराका लागि प्रसिद्ध कोशीटप्पु वन्यजन्तु आरक्षमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ।
आरक्षका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म आठ हजार ४१५ जना आन्तरिक, ६६ जना सार्क मुलुकका तथा २१० जना अन्य विदेशी पर्यटकले आरक्षको भ्रमण गरेका छन्। आरक्षका संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार उक्त अवधिमा पर्यटकबाट २५ लाख १९ हजार १६६ रुपैयाँ राजस्व सङ्कलन भएको छ।
हिउँदयाम सुरु भएयता पर्यटकको आवागमनमा झनै वृद्धि भएको वरिष्ठ संरक्षण अधिकृत यादवले बताए। आरक्षमा नेपालमै पाइने दुर्लभ अर्ना, भर्खर हुर्कँदै गरेका गैँडा, र साइबेरियालगायत देशहरूबाट आउने पाहुना चराहरूको अवलोकनका लागि पर्यटक आकर्षित हुने गरेका छन्। आरक्षमा हाल ५२० प्रजातिका चराहरूको वासस्थान रहेको छ।
पर्यटन प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले हालै छिमेकी मुलुक भारतबाट पर्यटक भित्र्याउने विभिन्न अभियान सुरु गरेको छ। सोही अन्तर्गत प्रदेश सरकारले कोसी गाउँपालिका–८ स्थित भण्टाबारी नजिकको नेपाल–भारत सीमा क्षेत्रमा भारतीय पर्यटकलाई सहज बनाउने उद्देश्यले ‘स्टीकर अभियान’ सुरु गरेको छ।
आरक्ष प्रशासनका अनुसार यी प्रयासहरू सफल भएमा आगामी दिनमा पर्यटकको सङ्ख्या र पर्यटन आय अझ बढ्ने अपेक्षा गरिएको छ।