May 5, 2025
भारतको केआईआईटी होस्टेलमा मृत फेला परेकी प्रिसा साहको अन्त्यष्टि भारतमै, अभिभावक नेपाल फर्कंदै
काठमाडौं/ भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा मृत अवस्थामा फेला परेकी नेपाली विद्यार्थी प्रिसा साहको अन्त्यष्टि भारतमै गरिएको छ।
प्रिसा साह वैशाख १८ गते विश्वविद्यालयको होस्टेलको कोठा नम्बर १११ मा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। घटनापछि अनुसन्धानको प्रक्रिया अघि बढाइएकाे छ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार शनिबार साँझ प्रिसाको अन्त्यष्टि भारतमै सम्पन्न गरिएको हो। “अभिभावकले भारतमै अन्त्यष्टि गर्ने निर्णय गर्नुभएको थियो,” दूतावास स्रोतले जानकारी दिएको छ।
वीरगन्ज महानगरपालिका–१५ भिस्वा टोलकी वासिन्दा प्रिसाको मृत्युको विषयमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ।