आदिकविको जन्मजयन्तीमा एभरेष्टमा कविता प्रतियोगिता एभरेष्ट कलेजको कविता प्रतियोगितामा सुप्रिया प्रथम

विराटनगर । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसर पारेर विराटनगरस्थित एभरेष्ट कलेजले खुल्ला कविता प्रतियोगिता आयोजना गरेको छ ।

कलेजमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका कवि एवं पत्रकार मीनकुमार नवोदितले उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगितामा सुप्रिया रम्तेल प्रथम, सन्ध्या सिग्देल द्वितीय र सुशान्त श्रेष्ठ तृतीय भएका थिए । कलेजका शिक्षक खम्बसिंह नेपाल र प्रतिमा कार्कीको निर्णायक समितिले प्रतियोगितामा प्रतिस्पर्धीहरुमध्येबाट विजेताको नाम घोषणा गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि साहित्यकार नवोदितले पृथ्वीनारायण शाहले भौगोलिक रुपमा नेपाललाई एकीकरण गरेजस्तै भाषिक र सांस्कृतिक रुपमा आदिकवि भानुभक्त आचार्यले नेपाललाई एकीकरण गरेको चर्चा गरे । कला, साहित्य र सिर्जनामा लाग्ने व्यक्ति सधैं जीवन्त रहने उनले बताए । अरु क्षेत्रका जुनसुकै ओहोदामा पुगे पनि पूर्व हुने बताउँदै नवोदितले भने, ‘सिर्जनामा लाग्ने व्यक्ति कहिल्यै पूर्व हुँदैन । सिर्जनामा लागेको व्यक्तिलाई कहिल्यै पनि पूर्वसाहित्यकार, पूर्वकलाकार र पूर्वगीतकार तथा पूर्वगायक भनिँदैन । पूर्व नहुने एकमात्रै क्षेत्र हो कला साहित्य ।’ नवोदितले विद्यार्थीहरुलाई अहिलेदेखि नै एउटा निश्चित लक्ष्य लिएर अगाडि बढे सफलता प्राप्त गर्न सकिने भन्दै उत्प्रेरित गरे ।
कलेजका प्राचार्य टीकाराम पुरीले भानुभक्त आचार्यले नेपाली भाषा, साहित्यमा पु¥याएको योगदानको चर्चा गर्दै एभरेष्ट कलेजले पनि भानुभक्तको स्मृतिमा हरेक वर्ष साहित्यिक कार्यक्रम आयोजना गर्ने गरेको जानकारी दिए । उनले घाँसीको प्रेरणाले आदिकवि भएका भानुभक्तले नेपाली साहित्यलाई रामायण, बधुशिक्षा, प्रश्नोत्तरलगायतका कृति दिएको चर्चा गरे ।

पुरीले एभरेष्ट कलेज र स्कुलले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि कविता, वादविवाद, वक्तृत्व, चित्रकला, खेलकुदलगायतका प्रतियोगिता आयोजना गर्ने गरेको बताए । कलेजले पठनपाठनसँगै विद्यार्थीको चौतर्फी विकासका लागि ध्यान दिएको उनको भनाइ थियो । कार्यक्रममा सहायक प्राचार्य टीएन भण्डारी, शिक्षक खम्बसिंह नेपाललगायतले पनि भानुभक्त आचार्यको योगदानको चर्चा गरे । विजेता विद्यार्थीलाई कलेजले विशेष समारोहमा नगद र प्रमाणपत्रसहित पुस्कृत गर्ने जनाएको छ ।

Add a Comment