झापामा लागुऔषध कारोबारी फरार, प्रहरीले दुई राउण्ड हवाई फायर
झापा / लागुऔषध कारोबारी पक्राउ गर्न खोज्दा झापाको कनकाई नगरपालिका–४, तल्लो चाप्रामारीमा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार सोमबार बिहान करिब पौने ९ बजे शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा उनी फरार भएका थिए।
प्रहरीले शरणामतीबाट सुरूङ्गातर्फ जाँदै गरेको बीआर ३७ टी ९१९८ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने प्रयास गरेको थियो। तर प्रहरीलाई देखेपछि मोटरसाइकल र झोला फालेर एक पुरुष मकैको घारीतर्फ भागेका थिए।
“प्रहरीलाई देख्नेबित्तिकै ती व्यक्ति मोटरसाइकल र झोला फालेर मकैघारीभित्र पसेर भागेका थिए,” डिएसपी खड्काले बताए।
उक्त घटनाक्रममा प्रहरीले नियन्त्रण कायम गर्न दुई राउण्ड हवाई फायर गरेको हो। घटनास्थलमा छाडिएको झोलाबाट २०४.०८० ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
फरार व्यक्तिको खोजी कार्य जारी रहेको जनाइएको छ।