May 6, 2025
जानकी नवमी जनकपुरधाममा श्रद्धाभावका साथ मनाइँदै, विशेष आरती र झाँकी कार्यक्रम
जनकपुरधाम / आदर्श नारी सीताको जन्मदिनको स्मरणमा आज जनकपुरधाममा जानकी नवमी श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। वैशाख शुक्ल नवमीका दिन पर्ने जानकी नवमीलाई विशेष धार्मिक महत्वसहित जनकपुरमा धुमधामसँग मनाउने परम्परा छ।
आजको दिन जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजाअर्चना, भजनकीर्तन, धार्मिक झाँकी र आरती कार्यक्रम आयोजना गरिएको छ। मन्दिर परिसर बिहानैदेखि श्रद्धालु भक्तजनले भरिएको छ।
जानकी नवमीको अवसरमा मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। बिदाको कारणले जनकपुरधाममा थप चहलपहल देखिएको छ।
मिथिला क्षेत्रको सांस्कृतिक तथा धार्मिक पर्वको रुपमा चिनिने जानकी नवमीलाई सीताको आदर्श, निष्ठा र सहनशीलताको प्रतीकका रुपमा मनाइन्छ। जनकपुरधाममा आजको दिन देशका विभिन्न भागबाट भक्तजन पुग्ने गरेका छन्।