इनरुवाको मदरसा विद्यालयलाई स्थानीय सहयोगमा बस हस्तान्तरण

इनरुवा/ भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित जामिया इस्लामिया मदर्शालाई एकथान बस औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। बुधबार आयोजित विशेष समारोहमा गाउँपालिका–२ का वडाध्यक्ष आलम अन्सारीले विद्यालय प्रशासनलाई बस हस्तान्तरण गरिएको जानकारी दिए।

उनका अनुसार बस स्थानीयवासीबाट चन्दा सङ्कलन गरी खरिद गरिएको हो। सो बसको साँचो गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले विद्यालयका प्रधानाध्यापक समिमअख्तर फलाहीलाई हस्तान्तरण गरे।

अध्यक्ष आजादले स्थानीयवासीको सहयोगप्रति आभार व्यक्त गर्दै शिक्षा प्रवर्द्धनतर्फ यो ऐतिहासिक कदम भएको बताए। उनले भने, “हामीले गाउँपालिकालाई शिक्षामैत्री बनाउने प्रतिबद्धता गरेका छौँ। सरकारी तथा निजी क्षेत्रको सहकार्यमा यस्ता कार्यक्रमलाई प्राथमिकता दिइरहेका छौँ।”

विद्यालयमा सवारीसाधनको अभावका कारण टाढाबाट आउने बालबालिकालाई समस्या हुँदै आएकोमा बसको उपलब्धताले केही राहत पुग्ने विश्वास प्रधानाध्यापक फलाहीले व्यक्त गरे।