विराटनगरको प्रादेशिक आपतकालीन गोदाम घर कोशी प्रदेश सरकारलाई हस्तान्तरण

विराटनगर/ नेपाल सरकारले विराटनगर भन्सार कार्यालय परिसरमा निर्माण गरिएको प्रादेशिक आपतकालीन गोदाम घर कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ। मंगलबार आयोजित एक विशेष समारोहमा गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई गोदाम घरको औपचारिक हस्तान्तरण गरेका हुन्।

गृह मन्त्रालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा मन्त्री लेखकले आपतकालीन अवस्थामा केन्द्र सरकारमाथि निर्भरता घटाउन गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताए। उनले भने, “प्राकृतिक विपद् वा अन्य आपतकालीन अवस्थामा प्रदेशले आफ्नै स्रोतबाट तत्काल प्रतिक्रिया जनाउन सकून् भनेर यो संरचना प्रदेश सरकारलाई दिइएको हो।”

उक्त गोदाम घर विश्व खाद्य कार्यक्रम (WFP) को सहयोगमा गृह मन्त्रालयले निर्माण गरेको हो। विराटनगर भन्सार कार्यालयको परिसरमा निर्माण गरिएको यस संरचनाले विपद् व्यवस्थापन र आपतकालीन राहत वितरणमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारले प्रदेश सरकारलाई जिम्मेवारी र अधिकार सुम्पिन थालेको प्रतीकका रूपमा यो हस्तान्तरणलाई उल्लेख गरे। उनले संघीयताको अभ्यासलाई सुदृढ बनाउने दिशामा यो कदम महत्वपूर्ण भएको बताए।

समारोहमा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, प्रदेश सांसद अमृत अर्याल, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठ तथा सुरक्षानिकायका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

Add a Comment

Your email address will not be published. Required fields are marked *