May 15, 2025
हल्दीबारीमा हुरीका कारण घर भत्किँदा एक वृद्धको मृत्यु
विराटनगर / झापाको हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकमा हुरीका कारण घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ६५ वर्षीय मानबहादुर मगरको गए राति मृत्यु भएको हो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार हुरीले टिनको छाना भएको घर भत्काउँदा बिमले थिचेर मगरको ज्यान गएको हो। घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।
अचानक आएको हुरीका कारण अन्य क्षेत्रमा पनि सामान्य क्षति भएको बताइएको छ। स्थानीय प्रशासनले मौसममा देखिएको असामान्य गतिविधिका कारण सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।