ससुरा र देवरविरुद्ध डा. निता यादवको गम्भीर आरोप: “अदालती फैसला भए पनि जग्गा हकभोगमा अवरोध”
विराटनगर/ सिटी हस्पिटलका संचालक डा. सितल यादवमाथि बुहारी डा. निता यादवले गम्भीर आरोप लगाएकी छन्। विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत डा. निताले आफ्नो नाममा अदालती फैसला भइसकेको सम्पत्तिमा हकभोग गर्न ससुरा, देवर र सासुले अवरोध सिर्जना गरेको बताएकी हुन्।
डाक्टर निता यादवका अनुसार, उनको श्रीमान् डा. सुशिल यादवको निधन २०८१ साल जेठ ३१ गते भएको थियो। उनी सिजोफ्रेनिया नामक मानसिक रोगबाट ग्रसित थिए। डा. निताको भनाइमा, उक्त अवस्थाको जानकारी नभई परिवारले झुक्याएर विवाह गराइएको थियो, र विवाहपश्चात् लगातार मानसिक र पारिवारिक यातना सहनुपरेको थियो।
डा. निताले बताइन् कि, उनका श्रीमानलाई २०५८ सालमै बुबा डा. सितल यादवले अंश छुट्याइदिएका थिए। सो अंशअनुसार बुढीगंगा गाउँपालिका–१ र ३ मा रहेका ६ कित्ता गरी झण्डै ४ विघाभन्दा बढी जग्गा प्राप्त भएको थियो। तर ती जग्गा आफूले भोगचलन गर्न नपाएको भन्दै उनले २०७९ सालमा अदालतमा मुद्दा दायर गरेकी थिइन्।
सुनसरी जिल्ला अदालतले २०८० बैशाख ७ गते डा. निताको पक्षमा फैसला गर्दै श्रीमानको अंशको आधा भाग दिने आदेश दिएको थियो। सो फैसलालाई ससुरा डा. सितलले उच्च अदालतमा पुनरावेदन गरे पनि २०८१ साउन १६ गते पुनः डा. निताको पक्षमै फैसला आएको हो।
“अदालती फैसला भएर पनि मेरो नाममा जग्गा नामसारी नहोस् भनेर मेरा ससुरा डा. सितल यादव र देवर डा. सुनिल यादवले लगातार प्रपञ्च रचिरहेका छन्। म मानसिक यातना भोग्दैछु,” डा. निताले दुखेसो पोखिन्।
उनले भनिन्, “मैले मेरो श्रीमानको भागमा रहेको टंकीसिनवारीको जग्गामा धारा, बत्ती, टहरा बनाउने प्रयास गर्दा ससुरा र देवरको प्रभावले गाउँपालिकाका कर्मचारीहरूले अवरोध गरे।”
डा. सितल यादवका नाममा विराटनगरमा सिटी हस्पिटल, २ वटा घर, ७ वटा सटर, ५ कट्ठा ९ धुर जग्गा, पिपल चौक कन्चनवारीमा १९ धुर, तिनपैनीमा २ कट्ठा, र टंकीमा १२ विघा ७ धुरसहित विशाल सम्पत्ति रहेको डा. निताले जानकारी दिइन्।
“म कुनै लोभले होइन, श्रीमानलाई दिइएको ४ विघा जग्गामात्र मेरो कानुनी अधिकारअनुसार माग्दैछु। तर त्यसैमा पनि मानसिक पीडा दिइँदैछ,” भन्दै न्यायको लागि सार्वजनिक रूपमा आवाज उठाउनुपरेको उनले बताइन्।