‘ऊनको स्वीटर’को प्रिमियरमा लोभलाग्दो प्रतिक्रिया, एक दशकयताकै उत्कृष्ट फिल्मको चर्चा

विराटनगर /शुक्रबार (बैशाख २६) बाट देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले राजधानीमा सम्पन्न प्रिमियर शोमा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ। बुधबार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा आयोजित विशेष प्रिमियरमा उपस्थित दर्शक, कलाकार तथा विशिष्ट व्यक्तिहरूले फिल्मको कथा, प्रस्तुति र सन्देशप्रति मुक्तकण्ठले प्रशंसा जनाएका छन्।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले फिल्ममा नेपालको सांस्कृतिक विविधता र ग्रामीण परिवेशलाई सुन्दर ढंगले चित्रण गरिएको बताउँदै यस्ता कृतिहरूले नेपाली फिल्म उद्योगको उचाइ बढाउने विश्वास व्यक्त गरे। प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले ‘ऊनको स्वीटर’ ले प्रेमलाई मन जितेर मात्र प्राप्त हुने सत्यलाई आत्मीय रूपमा प्रस्तुत गरेको भन्दै फिल्मको तारिफ गरिन्।

फिल्म हेरेपछि अभिनेता दयाहाङ राईले यसलाई ‘गजबको कृति’ भनेर ब्याख्या गरे भने संघीय सांसद शोभिता गौतमले सामाजिक प्रसङ्ग, कथावस्तु र दृश्य संयोजनप्रति आफू मोहित भएको बताइन्। अभिनेत्री केकी अधिकारीले ‘ऊनको स्वीटर’ लाई आफूले अहिलेसम्म हेरेका उत्कृष्ट नेपाली फिल्ममध्ये एक भएको भन्दै निर्देशक नवीन चौहानको कार्यकुशलताको प्रशंसा गरिन्।

फेसबुक लगायतका सामाजिक सञ्जालमा पनि प्रिमियरमा उपस्थित कलाकार तथा व्यक्तित्वहरूले फिल्मप्रति उत्साहजनक प्रतिक्रिया दिएका छन्। अभिनेत्री रीमा विश्वकर्माले एक दशकयता बनेका नेपाली फिल्महरुमध्ये ‘ऊनको स्वीटर’ सबैभन्दा उत्कृष्ट फिल्म भएको धारणा व्यक्त गर्दै यसले नेपाली सिनेमा नयाँ दिशामा उन्मुख भएको संकेत गरेको बताइन्।

प्रिमियर शोमा फिल्म टिम भावविह्वल देखिएको थियो। प्रमुख अभिनेता विपिन कार्कीले दर्शकको प्रेमले आफू अभिभूत भएको बताए भने अभिनेत्री मिरुना मगरले दर्शकलाई न्यानो माया दिन सफल भएकोमा खुशी व्यक्त गरिन्। एलेक्स पारसले आफ्नो पहिलो फिल्ममै यति राम्रो प्रतिक्रिया पाउँदा पुलकित भएको बताए। अभिनेत्री परीक्षा लिम्बूले आफू अभिनय गरेका पात्रमै समाहित भएको अनुभव सुनाइन्।

निर्देशक नवीन चौहानको निर्देशनमा बनेको ‘ऊनको स्वीटर’ काफ्ले युवक र गुरुङसेनी युवतीबीचको प्रेमकथामा आधारित छ। फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस र विल्सन विक्रम राई मुख्य भूमिकामा छन् भने साथमा सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल लगायतको अभिनय छ।

देशभरका हलहरूमा मंगलबार साँझदेखि नै अग्रिम टिकट बुकिङ खुला भइसकेको फिल्मले शुक्रबारदेखि प्रदर्शन थाल्दैछ। फिल्मको ‘काफ्ले’ गीत अहिले दर्शकमाझ निकै चर्चित बनेको छ।

फिल्मप्रति यति सकारात्मक प्रतिक्रिया देखिँदा यसले नेपाली सिनेमा बजारमा बलियो उपस्थिति जनाउने प्रक्षेपण गरिएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *