विराटनगरसहित २४ स्थान ‘सिंकहोल’ जोखिममा, भूगर्भविद् र विभागले सचेत रहन आग्रह

विराटनगर। विराटनगर महानगर क्षेत्रमा जमिन भासिने जोखिम बढेको छ। महानगरका विभिन्न क्षेत्रमा गरिएको अध्ययनका क्रममा यस्तो पाइएको हो। भौगर्भिक अध्ययनबाट विराटनगर जमिन भासिने ‘सिंकहोल’ को जोखिमयुक्त क्षेत्रमा रहेको पत्ता लागेको हो।

खानी तथा भूगर्भ विभागले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार विराटनगरसहित मुलुकका २४ स्थान ‘सिंकहोल’ को उच्च सम्भावित जोखिममा छन्। अध्ययनको विस्तृत जानकारी आउन बाँकी छ तर सम्भावित जोखिमलाई ध्यान दिंदै सावधानी अपनाउन विज्ञहरुले सचेत गराएका छन्।

जमिनको सतह कमजोर, जलनिकास प्रणाली अव्यवस्थित र उच्च जनघनत्वका कारण जमिन भासिने जोखिम रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ।

यसअघि पनि विराटनगरका केही स्थानमा सामान्य जमिन फाट्ने, धसिने र घरको आँगनमा धाँजा पर्ने समस्या देखिको थियो। जमिनको सतहमुनिको संरचना कमजोर रहेको भन्दै खानी तथा भूगर्भ विभाग र भूगर्भीय विज्ञहरूले विराटनगरलाई विशेष जोखिमयुक्त क्षेत्रको रूपमा चिनाएका छन्।

तराई, मधेश र पहाडी जिल्लामा जमिनको अवस्थाका बारेमा २०५५ सालदेखि अध्ययन थालिएको थियो। अध्ययनका आधारमा विराटनगरसहित नेपालका २४ स्थानमा जमिन भासिने सम्भावना रहेको पत्ता लागेको छ।

वैशाख १९ गते मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा सडकमै गुडिरहेको गाडी ११ मिटर गहिरो खाल्डोमा भासिएको थियो। गाडी हालसम्म उक्त दलदलमै फसिरहेको भूगर्भविद् नारायण अधिकारीले जानकारी दिए। उनका अनुसार गुडिरहेको गाडी जमिनमा भासिने लगायतका घटनाका बाबजुद जोखिमयुक्त स्थानहरूमा चासो र सतर्कता देखिएको छैन।

मोरङको विराटनगरसहित झापाको भद्रपुर र दमक, सुनसरीको धरान, सिन्धुली, धनुषाको जनकपुर, महोत्तरीको बर्दिबास र जलेश्वर, पर्साको वीरगन्ज, मकवानपुरको हेटौँडा, काठमाडौं, नुवाकोट, चितवनको भरतपुर, कास्कीको पोखरा पनि जोखिममा छन्।

यसैगरी, तनहुँको दमौली, रुपन्देहीको बुटवल र भैरहवा, दाङको तुलसीपुर, बाँकेको नेपालगञ्ज, बर्दियाको गुलरिया, सुर्खेत, कैलालीको टीकापुर र धनगढी तथा कञ्चनपुरको महेन्द्रनगरमा जमिन भासिने जोखिम रहेको खानी तथा भूगर्भ विभागले जनाएको छ। ‘सिंकहोल’ को सम्भावित जोखिम रहेका क्षेत्रमा उच्च सतर्कता एवं सवधानी अपनाउँदै पूर्वतयारीमा ध्यान दिनुपर्ने विभागले उल्लेख गरेको छ।

केही वर्षयताको तीव्र निर्माण कार्य, सडक विस्तार, भूमिगत नाला निर्माण र भूउपयोगको अत्यधिक दबाबका कारण सिंकहोलको जोखिम बढेको विज्ञहरु बताउँछन्।

वरिष्ठ भूगर्भविद् प्रा.डा. मेघराज धितालका अनुसार जमिनको माथिल्लो भाग कडा माटो वा ढुंगाले बनेको भए पनि भित्री भाग घुलनशील चट्टानबाट बनेको छ भने भूमिगत पानीको बहावले ती चट्टानहरू बिस्तारै घोलेर खोक्रो बनाउँछ। जसका कारण जमिनको कुनै भागमा एक्कासि प्वाल पर्छ।

भूगर्भभित्रको संरचना र पानीको प्रभावले जमिनको माथिल्लो भाग एक्कासि भासिनु वा प्वाल पर्नु नै ‘सिंकहोल’ हो। धितालका अनुसार चुनढुंगा, चट्टान, गुफा र भित्री च्यानलका कारण पोखरा सबैभन्दा बढी जोखिममा छ।

खानी तथा भूगर्भ विभागकी महानिर्देशक मोनिका झाले जोखिमयुक्त क्षेत्रको विवरण विभागले स्थानीय तहमा पठाइसकेको बताइन्। जोखिम बढ्दै गएपछि जनचेतना फैलाउने कार्य सुरु गरिएको उनको भनाइ छ।

विज्ञहरुले विकास निर्माणअघि अनिवार्य भूगर्भीय अध्ययन गर्नुपर्नेमा जोड दिएका छन्। झाले जोखिमयुक्त ठाउँको भूगर्भीय परीक्षण गरेर मात्रै संरचना बनाउनुपनेृमा जोड दिइन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *