सडकमै मकै कुहिन थालेपछि मोरङका कृषक चिन्तित
रबिन्द्र बराल
मोरङ / पूर्वी मोरङमा केही दिनदेखि लगातार परेको अविरल वर्षाका कारण मकै खेती गर्ने किसानहरू ठूलो समस्यामा परेका छन्। विशेषगरी रंगेली, सुनवर्षी, रतुवामाई, धनपालथान, कानेपोखरी लगायतका क्षेत्रका किसानहरूलाई मकै बाली भित्र्याउने समयमा मौसमले धोका दिएपछि ठूलो नोक्सानी बेहोर्नुपर्ने स्थिति आएको हो।
गहुँ खेतीभन्दा मकै खेतीमा राम्रो आम्दानी देखेर आकर्षित भएका किसानहरूले मकैलाई मुख्य नगदे बालीका रूपमा रोज्न थालेका थिए। करिब ९५ प्रतिशत कृषकले मकै खेतीमा लागेका थिए। तर, खेतीका लागि समयमा रासायनिक मल उपलब्ध नहुँदा किसानहरूले भारत तथा नेपालका विभिन्न स्थानबाट महँगो मूल्यमा बिउ र मल खरिद गरेर खेती सुरु गरेका थिए।
कृषकहरूले मेहनतपूर्वक राम्रो बाली उब्जाए पनि अहिलेको अविरल वर्षाले सबै मेहेनतमा पानी फेरिदिएको छ। केही साता अघि मौसम सफा देखिएपछि किसानहरूले जनमजदुरी राखेर मकै टिपेर घर आँगनमा ल्याउने काम सुरु गरेका थिए।
तर अहिले, दिनभर सुकाएको मकै रातभरको वर्षाले सडकमै भिज्ने, उठाउन नपाउने स्थिति बनेको छ। कतिपय ठाउँमा त मकै कुहिन थालेको र गन्हाउन सुरु भएको किसानहरूको गुनासो छ।
स्थानीय किसान दुलार्चन सहनीका अनुसार, “बर्षाले गर्दा हालसम्म करिब ८० प्रतिशत मकै खेतमै बिग्रिने अवस्थामा पुगेको छ।”
साना किसानहरूको लगानी र श्रम डुब्ने खतरा बढ्दै जाँदा राज्यको उचित सहयोग र राहतको माग तीव्र रूपमा बढिरहेको छ।