आवाजमै चल्ने हिसाब–किताब एप ‘Lokta’ बजारमा
विराटनगर । साना तथा स्थानीय व्यवसायीहरूको दैनिक हिसाब–किताब र मालसामान व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसहित ‘Lokta’ (लोक्ता) नामक नयाँ मोबाइल एप्लिकेशन नेपालमा सार्वजनिक गरिएको छ।
आवाजको प्रयोगमार्फत समेत चलाउन सकिने यो एप साना व्यापारीहरूको दैनिक व्यवहारलाई ध्यानमा राखेर विकास गरिएको हो।
किराना पसल, साना थोक व्यापारी तथा छिमेकस्तरका व्यवसाय सञ्चालन गर्ने व्यापारीहरूलाई लक्षित गरी बनाइएको Lokta ले जटिल लेखा प्रणालीको झन्झटबाट मुक्ति दिलाउने लक्ष्य राखेको छ। हाल उपलब्ध अधिकांश एकाउन्टिङ सफ्टवेयरहरू प्राविधिक र लेखापाल केन्द्रित हुँदा साना व्यापारीहरूका लागि प्रयोग गर्न कठिन भइरहेको अवस्थामा Lokta ले सरल र सहज विकल्पको रूपमा आफूलाई प्रस्तुत गरेको छ।
सिक्न सजिलो, प्रयोगमा प्रभावकारी
“Minimum learning, Maximum utility” भन्ने अवधारणामा आधारित Lokta एप बिना तालिम वा न्यून सिकाइमै प्रयोग गर्न सकिने बनाइएको छ। व्यापारीहरूले आफ्नो दैनिक कारोबार गर्ने तरिकामा परिवर्तन नगरी, सहयोगी उपकरणको रूपमा यसलाई प्रयोग गर्न सक्नेछन्। यसले व्यापार सञ्चालनमा डिजिटल सहयोगी अर्थात् बिजनेस कम्पानियनको भूमिका निभाउने विकासकर्ताहरूको दाबी छ।
Lokta मार्फत दैनिक बिक्री तथा खरिदको विवरण राख्न, स्टक ट्र्याकिङ गरी सामानको वास्तविक अवस्था बुझ्न, नाफा–नोक्सान र समग्र व्यवसायिक स्थिति स्पष्ट रूपमा हेर्न सकिने सुविधा उपलब्ध छ। स्मार्टफोन प्रयोगमा सहज नभएका, अंग्रेजी तथा लेखा–जोखा शब्दावलीमा सीमित पहुँच भएका तथा पारिवारिक साना पसल सञ्चालन गर्ने व्यापारीहरूका लागि यो एप विशेष रूपमा उपयोगी हुने अपेक्षा गरिएको छ।
नेपाली बजारका लागि नेपाली समाधान
नेपालको सामाजिक–आर्थिक यथार्थ, भाषा, प्रविधिमा पहुँच र साना व्यवसायीहरूको व्यवहारलाई केन्द्रमा राखेर विकास गरिएको Lokta कुनै अन्तर्राष्ट्रिय ‘फेन्सी प्रोडक्ट’ नभई नेपाली व्यापारीहरूकै आवश्यकता अनुसार तयार गरिएको व्यवहारिक डिजिटल समाधान हो। यसले साना व्यवसायलाई क्रमशः डिजिटल प्रणालीमा अभ्यस्त गराउँदै आत्मनिर्भर बनाउने दीर्घकालीन लक्ष्य लिएको छ।
Lokta एपका फाउन्डर कमल प्रसाद साहका अनुसार यो एप केवल हिसाब राख्ने साधन मात्र नभई साना व्यापारीहरूको मानसिक बोझ कम गर्ने र व्यवसाय सञ्चालनमा आत्मविश्वास बढाउने प्रयास हो। उनले करिब ५–६ महिनादेखि डेमो परीक्षणका रूपमा प्रयोग हुँदै आएको Lokta ले बजारबाट सकारात्मक प्रतिक्रिया पाएको जानकारी दिए।
हाल विराटनगरमा मात्रै ७५ जनाभन्दा बढी साना व्यापारीहरूले यो एप प्रयोग गरिरहेका छन्।
“जब साना व्यापारी सुदृढ हुन्छन्, देशको अर्थतन्त्र पनि सुदृढ हुन्छ” भन्ने विश्वासका साथ Lokta ले नेपालको साना व्यवसाय क्षेत्रलाई दीर्घकालीन रूपमा साथ दिने अपेक्षा गरिएको छ।
