‘ऊनको स्वीटर’को तेस्रो हप्तामा सशक्त पाइला, विशेष शोमा मनीषा कोइरालादेखि विशिष्ट व्यक्तिहरूको सहभागिता
विराटनगर/ नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले सफलताका साथ दोस्रो हप्ता पूरा गर्दै तेस्रो सातातर्फ यात्रा सुरु गरेको छ। वैशाख २६ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको चलचित्रले दर्शकको मन जितिरहेको छ। यस्तै उत्साहको बीच, बुधवार साँझ काठमाडौंमा आयोजित विशेष शोमा फिल्म क्षेत्रका प्रतिष्ठित कलाकारदेखि राजनीति, कानुन र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति देखिएको छ।
विशेष शोमा बलिउड तथा नेपाली अभिनेत्री मनीषा कोइरालाले ‘ऊनको स्वीटर’लाई खुलेर प्रशंसा गरेकी छन्। “कतिसुन्दर र मन छुने प्रेमकथा! सांस्कृतिक विविधता, आत्मा छुने सङ्गीत र जीवन्त अभिनयले चलचित्र अविस्मरणीय बनाएको छ,” उनले भनिन्।
यसैगरी अभिनेता तथा पाइलट विजय लामाले निर्देशक नवीन चौहानको कामको खुलेर प्रशंसा गर्दै भने, “फरक ढङ्गको अर्ग्यानिक कथा बोकेको यो चलचित्र सहरमा बस्ने हाम्रा लागि अनिवार्य हेर्नुपर्ने चलचित्र हो।”
चलचित्र हेरेपछि प्रतिक्रिया दिएका अन्य व्यक्तिहरूमध्ये गायक राजेश पायल राई, आनन्द कार्की, अभिनेता नाजिर हुसेन, संविधानविद् डा. भीमार्जुन आचार्य, नेतृ नबिना लामा, डा. लोचन रिजाल, पत्रकार दिलभुषण पाठक र अमन प्रताप अधिकारी रहेका थिए। उनीहरूले चलचित्रलाई प्रेम, संवेदना र सांस्कृतिक विविधताको उत्कृष्ट मिश्रण भएको भन्दै मुक्तकण्ठले प्रशंसा गरे।
राजेश पायल राईले चलचित्रको उत्कृष्ट निर्देशन र कलाकारको अभिनयप्रति उच्च सम्मान व्यक्त गरे। अभिनेता नाजिर हुसेनले भने, “चलचित्र न्यानो छ, कोमल छ – पुराना दिनहरूको सम्झना दिलाउने खालको।” संविधानविद् आचार्यले चलचित्रलाई प्राकृतिक अभिनय र दृश्यको उत्कृष्ट समिश्रण भएको बताएका छन्।
नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको छ। ‘ऊनको स्वीटर’ले नेपाली बक्स अफिसमा दुई हप्तामै ८ करोड १० लाख रुपैयाँ ग्रस कमाइ गरिसकेको छ भने अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो व्यापार गरिरहेको छ।
चलचित्रप्रति आम दर्शकको साथसाथै विशिष्ट व्यक्तिहरूको उत्साहजनक प्रतिक्रिया आउनुले ‘ऊनको स्वीटर’लाई यस वर्षको सबैभन्दा चर्चित र सफल नेपाली चलचित्रहरूमध्ये एक बनाएको छ।