भोजपुरमा पारिवारिक विभत्स हत्या : एक व्यक्तिबाट सासु, ससुरा, श्रीमती र सालोको हत्या

विराटनगर। भोजपुरमा एक व्यक्तिले आफ्नै परिवारका चार सदस्यको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन्। भोजपुर नगरपालिका–२, हेलौछाका राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२, धोदलेखानीमा रहेकी सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार, घटनापछि राईले शनिबार राति सवा १ बजे आफैं प्रहरी कन्ट्रोल रुममा फोन गरी हत्या गरेको स्वीकार गर्दै आफूलाई पक्राउ गर्न आग्रह गरेका थिए।

फोन प्राप्त भएपछि अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी सहायक निरीक्षक अशोक कुमार खवास र जिल्ला प्रहरी कार्यालय भोजपुरबाट हबल्दारको टोली घटनास्थलतर्फ खटिएको थियो।

प्रहरी टोली धोदलेखानी पुग्दा ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी, राईकी १६ वर्षीया श्रीमती र १० वर्षीय सालोको शव फेला परेको थियो। प्रहरीका अनुसार श्रीमती र सालो ‘अन्डर एज’ भएकाले उनीहरूको नाम खुलाइएको छैन।

राजेन्द्र राई भने रामप्रसाद राई गाउँपालिका–१, हर्बुभञ्ज्याङ भन्ने स्थानमा घाइते अवस्थामा फेला परेका थिए। हत्या भएको स्थान र उनी फेला परेको ठाउँ करिब ४–५ किलोमिटरको दूरीमा पर्छ। उनको पेटमा धारिलो हतियारको चोट रहेको छ र हाल जिल्ला अस्पतालमा उपचाररत छन्।

प्रारम्भिक बयानमा राईले शनिबार राति करिब ११ बजे सासुले चक्कु प्रहार गरेपछि आफूले आत्मरक्षाको प्रतिक्रिया स्वरूप चार जनाको हत्या गरेको बताएका छन्। इन्सपेक्टर श्रेष्ठका अनुसार, “उनी विस्तारै बोल्न सक्ने अवस्थामा छन्, उनले हत्या गरेको भनेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।”

प्रहरी अनुसन्धानका अनुसार, राजेन्द्र राईले करिब एक वर्षअघि प्रेम विवाह गरेका थिए।

Add a Comment