विराटनगरमा बालयौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ

विराटनगर/ विराटनगर महानगरपालिका-६ रामपुरबाट बालयौन दुर्व्यवहारको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पीडित बालिकाले दिएको उजुरीको आधारमा प्रहरीले ३५ वर्षीय महम्मद साबिरलाई बिहीबार पक्राउ गरेको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार, रामपुरस्थित एक घरमा भाडामा बसेका दिदीबहिनीमध्ये एक बालिकामा ५-६ महिनादेखि डराउने, आत्तिने र बेहोस हुने जस्ता लक्षण देखिएको थियो। सोही आधारमा अनुसन्धान गर्दा साबिरले आफू धामी झाँक्री भएको बताउँदै बालिकालाई झारफुक गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।

साबिरले बालिकालाई पूर्ण रूपमा निको बनाउने भन्दै पीडित पक्षसँग ७० हजार रुपैयाँ माग गरेका थिए, जुन रकम पीडित पक्षले बुझाएको थियो। सोही क्रममा गत चैत १७ गते रातिको समयमा उपचारकाे बहानामा बालिकालाई घरमा बोलाएर यौन दुर्व्यवहार गरेको उजुरीमा उल्लेख छ।

घटनापछि बालिकालाई कसैलाई नभन्न दबाब दिएको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ। हाल साबिरलाई प्रहरीले नियन्त्रणमा लिई सात दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको डीएसपी जोशीले जानकारी दिएका छन्।

प्रहरीले पीडित बालिकाको स्वास्थ्य परीक्षण गराई अनुसन्धानलाई अघि बढाइरहेको जनाएको छ।