अमरदह–ए (यंग ब्वाइज) प्रथम अमरदह युवा क्लब फुटबल प्रतियोगिताको विजेता

अमरदह/अमरदह युवा क्लबको आयोजनामा सम्पन्न प्रथम अमरदह युवा क्लब फुटबल प्रतियोगिता २०८२ मा अमरदह–ए (यंग ब्वाइज) ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको छ। रोमाञ्चक फाइनल खेलमा आयोजक अमरदह युवा क्लब (AYC) लाई २–१ को अन्तरले पराजित गर्दै अमरदह–ए टोली विजयी बनेको हो।

आकाशे निलो जर्सीमा सजिएको अमरदह–ए टोलीले खेल कौशल, समर्पण र खेल भावना प्रदर्शन गर्दै दर्शकहरूको मन जित्न सफल भयो। प्रतियोगिता जेठ ३ गतेदेखि ११ गतेसम्म सञ्चालन गरिएको थियो।

यस प्रतियोगिताको उद्देश्य युवाहरूलाई खेलकुदप्रति प्रेरित गर्नुका साथै समाजमा फैलिँदो लागूपदार्थको दुव्र्यसनविरुद्ध सचेतना फैलाउनु रहेको आयोजकले जनाएका छन्। “खेलकुदमा बसाऔँ बानी, लागूपदार्थले गर्छ हानि” भन्ने नाराले सामाजिक सन्देश समेत फैलाइएको छ।

प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो। सहभागी टोलिहरूमा मिक्लाजुङ, भूटानी एफसी, हाम्रो एकेडेमी गौरिगञ्ज, यंग स्टार बेलबारी, इटहरा युवा क्लब लगायत विभिन्न स्थानका टोलीहरू थिए।

फाइनल खेलका अवसरमा सुनवर्षी नगरपालिकाका उपप्रमुख मिरा देवी दास केवरत प्रमुख अतिथि रहनुभएको थियो भने वडा नं. २ का अध्यक्ष विनोद राजवंशी, समाजसेवी यज्ञ कार्की लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। विजेता टोलीलाई प्रमुख अतिथिको हातबाट ट्रफी प्रदान गरिँदा सम्पूर्ण वातावरण उत्साहपूर्ण र उल्लासमय बनेको थियो।

क्लब अध्यक्ष रेशब ढुंगानाको सक्रिय नेतृत्वमा सम्पन्न प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद प्रवर्द्धन तथा युवालाई सकारात्मक मार्गमा अग्रसर गराउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याएको छ। खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति र समर्थनले प्रतियोगितालाई अझ स्मरणीय बनाएको छ।