सुनसरीमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु, एक घाइते

सुनसरी/ सुनसरीको इनरुवा नगरपालिका–७ स्थित हुलाकी राजमार्गमा जेठ १५ गते भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

प्रदेश १–०२–००१ ख ८०५४ नम्बरको सेफ्टी ट्याङ्की सफा गर्ने ट्याङ्करले विपरीत दिशाबाट आइरहेको को. ३२ प १३९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार दुहवी नगरपालिका–११ निवासी ४८ वर्षीय देव नारायण उराव गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि इनरुवा अस्पताल लगिएको भए पनि अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।

मोटरसाइकल चालक सोही स्थानका २३ वर्षीय मनिरत्न चौधरी गम्भीर घाइते भई विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचाररत रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

दुर्घटनामा संलग्न ट्याङ्कर र चालक इनरुवा–२ निवासी लस्कर अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिई घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ।