लागू औषधसहित झापा र सुनसरीबाट ४ जना पक्राउ
विराटनगर/ झापा र सुनसरी जिल्लाबाट लागू औषधसहित चार जना पक्राउ परेका छन्। लागू औषधको अवैध कारोबार तथा सेवनमा संलग्न रहेको आशंकामा प्रहरीले विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुल क्षेत्रमा कार्यरत लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले जेठ २२ गते ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मकवानपुर हेटौंडा–३ का २१ वर्षीय डेबिड लामा (२ ग्राम ब्राउन सुगरसहित) र बिर्तामोड नगरपालिका–२ का २९ वर्षीय संजय चौधरी (३ ग्राम ब्राउन सुगरसहित) रहेका छन्।
त्यसैगरी, इलाका प्रहरी कार्यालय गौरादहले गौरादह नगरपालिका–१ का २९ वर्षीय सुजन कन्दङ्वालाई १ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
अर्को घटनामा, सुनसरीको अस्थायी प्रहरी पोष्ट जोरसखुवा धरानबाट खटिएको टोलीले धरान–१६ का ३० वर्षीय गोपाल राईलाई प्रतिबन्धित औषधी ५६९ चक्की र नगद ३७ हजार रुपैयाँसहित पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी कार्यालयहरूले जनाएका छन्।