मोरङ जिल्ला स्तरीय खुल्ला कराँते प्रतियोगिता भव्य रूपमा सम्पन्न

सरिता कर्मकार
विराटनगर । नेपाल सितोरियो कराँते संघ मोरङ जिल्ला शाखाको आयोजनामा विराटनगरमा सम्पन्न मोरङ जिल्ला स्तरीय खुल्ला कराँते प्रतियोगिता भव्य र सफल रूपमा सम्पन्न भएको छ। शनिबार भएको प्रतियोगिताको उद्घाटन वडा नं. ४ का अध्यक्ष जितेन थापाले दीप प्रज्वलन गरी गरेका थिए।

उद्घाटन समारोहमा प्रमुख अतिथि थापाले खेलकुदले युवालाई लागूपदार्थको दुर्गुणबाट बचाउँदै अनुशासित जीवनशैली अपनाउन प्रेरणा दिने बताएका थिए। उनले स्वास्थ्य प्रवर्द्धन तथा राष्ट्र निर्माणमा खेलकुदको योगदान उल्लेखनीय भएको उल्लेख गर्दै स्थानीय तहबाट प्रतियोगिताका लागि बजेट विनियोजन गरिएको जानकारी दिए।

प्रतियोगितामा मोरङ जिल्लाको पथरी, रंगेली, बेलबारी, मिक्लाजुङ, लेटाङ, सुन्दरहरैंचा, ईटहरी, मधुमल्लालगायत विभिन्न स्थानबाट करिब ३०० जना खेलाडीको सहभागीता रहेको थियो। सहभागी खेलाडीहरू कञ्चनबारी कराँते एकेडेमी, पृथ्वी डोजो, रनकाली डोजो, मिल्स एरिया कराँते एकेडेमी, च्याम्पियन्स कराँते एकेडेमी लगायतका प्रतिष्ठित एकेडेमीहरूबाट प्रतिनिधित्व गरिरहेका थिए।
प्रतियोगितामा सुन्दर हरैचा स्थित प्रभात किरण कराँते एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै १६ वटा स्वर्ण, १४ रजत र ११ कास्य पदक प्राप्त गरी समग्रमा प्रथम स्थान हासिल गर्न सफल भयो।
बेलबारी कराँते एकेडेमीले १६ स्वर्ण, १३ रजत र १० कास्य पदकसहित दोस्रो स्थान प्राप्त गर्‍यो भने
कञ्चनबारी कराँते एकेडेमीले १३ स्वर्ण, ३ रजत र १ कास्य पदक जित्दै तेस्रो स्थानमा रहन सफल भयो।

कार्यक्रममा सितोरियो कराँते संघका केन्द्रीय सदस्य धर्म न्यौपाने, मोरङ कराँते संघका अध्यक्ष चन्द्र पराजुली, रंगेली कराँते डोजोका प्रशिक्षक गोपाल बराल, मोरङ जिल्ला सितोरियो कराँते संघका उपाध्यक्ष बलबहादुर बराल लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार यस प्रतियोगिताले जिल्लाभरिका कराँते खेलाडीबीच आपसी प्रतिस्पर्धा, सहकार्य र सीप विकासका लागि सशक्त मंचको रूपमा भूमिका निर्वाह गरेको छ।

Add a Comment