विराटनगरमा मोटरसाइकल दुर्घटनामा कोशी प्रदेशका क्रिकेट खेलाडी मिनष थापाको निधन
विराटनगर । कोशी प्रदेशका प्रभावशाली क्रिकेट खेलाडी मिनष थापाको मोटरसाइकल दुर्घटनामा परेर दुःखद निधन भएको छ। बिहीबार राति विराटनगर महानगरपालिका–४ स्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा २७ वर्षीय थापाले ज्यान गुमाएका हुन्।
मोरङ प्रहरीका अनुसार प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल आफैंले चलाइरहेका थापा एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा राति करिब पौने १ बजे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले दुर्घटनाबारे जानकारी दिएका छन्।
दुर्घटनापछि गम्भीर घाइते अवस्थामा रहेका थापालाई तत्काल उपचारका लागि कोशी अस्पताल पुर्याइएको थियो। तर अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
विराटनगर–५ निवासी थापा विगत नौ वर्षभन्दा बढी समयदेखि कोशी प्रदेशबाट घरेलु क्रिकेटमा सक्रिय थिए। उत्कृष्ट ब्याट्सम्यानका रूपमा चिनिएका उनले नेपालका विभिन्न चर्चित फ्रेन्चाइज लिगहरूमा समेत सहभागिता जनाइसकेका थिए।
थापाको आकस्मिक निधनले नेपाली क्रिकेट जगत, खेलप्रेमी तथा स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। उनका बुवा करिब डेढ दशकदेखि बेपत्ता रहेको बताइएको छ। थापा आमा तनुजा र भाइ प्रदीपसँग बस्दै आएका थिए। परिवारको आशालाग्दो आधार गुम्दा घरमा ठूलो शोक छाएको छ।
प्रहरीले दुर्घटनामा परेको मोटरसाइकल नियन्त्रणमा लिएको छ भने शव पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
