अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय ३ दिनका लागि बन्द

विराटनगर। विराटनगरमा जारी अत्यधिक गर्मीका कारण विद्यालयहरु ३ दिनका लागि बन्द गरिने भएका छन्। विराटनगर महानगरपालिकाले सूचना जारी गर्दै आगामी जेठ २८ गते बुधबारदेखि ३० गते शुक्रबारसम्म महानगर क्षेत्रभित्र सञ्चालन भइरहेका सबै विद्यालयहरु बन्द रहने जानकारी दिएको हो।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलद्वारा हस्ताक्षरित सूचनामा बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको उल्लेख छ। अत्यधिक गर्मीका कारण विद्यालयमा पठनपाठन र अन्य गतिविधि सञ्चालन गर्न कठिनाई भइरहेको भन्दै अस्थायी रूपमा विद्यालय बन्द गर्ने निर्णय लिइएको हो।

महानगरपालिकाले यदि उक्त अवधिमा मौसममा सुधार आएर तापक्रम घटेमा वा वर्षा भई अनुकूल अवस्था बनेमा विद्यालय सञ्चालनको व्यवस्था मिलाउन समेत सबै विद्यालयलाई अनुरोध गरेको छ।

हाल मनसुन साबिकभन्दा करिब दुई साताअघि नेपाल भित्रिए पनि सक्रिय नहुँदा वर्षा हुन नसकेको र यसको असरस्वरूप विराटनगर लगायतका क्षेत्रमा दैनिक तापक्रम उच्च बन्दै गएको जनाइएको छ। मंगलबार विराटनगर र आसपासका क्षेत्रको तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।

गर्मी बढेसँगै सार्वजनिक स्थानहरूमा सर्वसाधारणको आवतजावत घटेको छ भने गर्मीजन्य स्वास्थ्य समस्या भएर अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार गराउन आउने बिरामीको संख्या समेत बढेको छ।