कुटपिटबाट मृत्यु : प्रेम कुमार कुलुङ राईको ज्यान लिने रघु कुलुङ राई पक्राउ

विराटनगर । सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका–२ मा कुटपिटबाट एक जनाको ज्यान गएको छ। कुटपिट गरी हत्या गरेको आरोपमा सोही स्थानका २६ वर्षीय रघु कुलुङ राईलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

जेठ १४ गते सामान्य वादविवादपछि रघुले ४० वर्षीय प्रेम कुमार कुलुङ राईमाथि बाँसको भाटा र लाठ्ठी प्रयोग गरी शरिरका विभिन्न भागमा कुटपिट गरेका थिए। घाइते अवस्थामा रहेका प्रेम कुमारलाई उपचारका लागि महाकुलुङ आधारभूत अस्पताल बुङमा लगिएको थियो। उपचारको क्रममा जेठ १६ गते उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न रघु कुलुङ राईलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ।