रसुवामा बाढी: १८ जना बेपत्ता

विराटनगर। रसुवामा लगातारको वर्षापछि आएको भीषण बाढीले ठूलो क्षति पुर्‍याएको छ । गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा आइतबार बिहान भोटेकोशी नदीमा आकस्मिक बाढी आएपछि १८ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमध्ये ६ जना चिनियाँ नागरिक रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । यस्तै, उद्धारका लागि खटिएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरासमेत बाढीले बगाएको प्रारम्भिक जानकारी आएको छ ।

बाढीमा परेका ९ जनाको उद्धार गरिएको छ भने उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

चिनियाँ भूभागमा भएको भारी वर्षापछि नेपालतर्फको भोटेकोशी नदीमा पानीको बहाव अस्वाभाविकरूपमा बढेको हो । बाढीले नेपाल–चीन जोड्ने प्रमुख नाका ‘मितेरी पुल’ समेत बगाएको छ भने आसपासका संरचनाहरूमा व्यापक क्षति पुगेको छ । बाढीले दर्जनौँ सवारी साधन पनि बगाएको बताइएको छ ।

नदी आसपासको सडक संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । घटनास्थलमा अहिले नेपाली सुरक्षाकर्मीको ठूलो टोली परिचालन गरिएको छ ।

बेपत्ताहरूको खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक कृष्णबहादुर धितालको नेतृत्वमा २० जनाको टोली खटिएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय टिमुरेबाट प्रहरी नायब निरीक्षक धनबहादुर तामाङको नेतृत्वमा २८ जना, सशस्त्र प्रहरी बलका नायब निरीक्षक सुमन महन्त गिरीको नेतृत्वमा १२ जना, स्याफ्रुबेसी, हाकु, मैलुङ र बेत्रावतीबाट गरी थप २४ जना खटिई कूल ८४ सुरक्षाकर्मी घटनास्थलमा परिचालित छन् ।

प्रहरीका अनुसार खोज तथा उद्धार कार्य तीव्र पारिएको छ । बाढीका कारण थप क्षतिको सम्भावना रहेकाले स्थानीयलाई सतर्क रहन समेत अनुरोध गरिएको छ ।

Add a Comment