लागुऔषध कारोबारीमाथि प्रहरीको गोली, चार जना पक्राउ
काठमाडौं। काठमाडौंको टोखा क्षेत्रमा लागुऔषध कारोबारमा संलग्न अभियुक्तहरूलाई नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि आक्रमण भएपछि प्रहरीले गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको छ।
लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी) का अनुसार उपत्यकामा लामो समयदेखि खैरो हिरोइनको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खोजतलासमा खटिएको थियो। खोजतलासको क्रममा काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित सडकबाट भारतका दुई नागरिकलाई मंगलबार दिउँसो २ बजे नियन्त्रणमा लिइएको थियो। सोधपुछका क्रममा थप दुई जना ग्राण्डी अस्पताल क्षेत्रको पछाडि लुकेर बसेको जानकारी प्राप्त भएपछि प्रहरी टोली उनीहरूलाई साथमै लिएर ग्राण्डी पुगेको थियो।
त्यहाँ दिउँसो ३ः१५ बजे थप दुईजनालाई नियन्त्रणमा लिने क्रममा अभियुक्तहरूले फलामको रडले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले आत्मरक्षार्थ गोली चलाएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए। अभियुक्तहरूको रड प्रहारबाट प्रहरी वरिष्ठ हवल्दार नवराज घिसिङ र प्रहरी सहायक हवल्दार रवीन्द्र केसी घाइते भएको उनले बताए।
प्रहरीले पहिलो चरणमा चार राउण्ड हवाई फायर गरी स्थितिलाई नियन्त्रणमा लिन प्रयास गरेको थियो। तर, आक्रमण जारी रहेपछि तीन राउण्ड गोली फायर गरी अभियुक्तलाई नियन्त्रणमा लिएको शाहीले जानकारी दिए।
पक्राउ पर्नेहरूमा भारत पठाना दानपुरका २० वर्षीय सुमित कुमार, २५ वर्षीय चन्दनकुमार जैसवाल, पश्चिम बंगालका ४० वर्षीय शासिक आलम र विहारका २२ वर्षीय मोहम्मद मञ्जुर आलम छन्। गोली लागेका आलम दाजुभाइलाई बायाँ खुट्टामा चोट लागेको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
टोखा नगरपालिका–३ मा उनीहरूले स्पिकरभित्र लुकाएर राखेको अवस्थामा २०० ग्राम खैरो हिरोइन पनि बरामद गरिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ।